• १६ असार २०८१, आइतबार

समतामूलक समाज निर्माणमा युवा अग्रसर हुनुपर्छ : पूर्वमन्त्री बस्नेत

blog

धर्बेन्द्र झा

धनुषा, माघ २५ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा कमिटीको शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालमा भएको हरेक खालको परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेकाले आउने दिनमा समतामूलक समाज निर्माणमा युवाहरूले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । 

युवा आन्दोलनको नेतृत्व गर्ने संस्था राष्ट्रिय युवा सङ्घ नेपाल रहेको चर्चा गर्दै विगतमा देशमा आतङ्क फैलाउने शक्तिलाई साइजमा राखेर जातीय राजनीतिलाई निस्तेज पार्ने काममा राष्ट्रिय युवा सङ्घ नेपालले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मधेशमा हिजो एमालेलाई विरोध गर्नेहरू अहिले एमालेको झण्डामुनि आएको उहाँले चर्चा गर्नुभयो ।

राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमाले जात, धर्मको राजनीति नगरेर वर्गीय राजनीतिको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाँले अहिले पनि केही शक्तिहरू सामाजिक सञ्जालमा एमाले विरोधी गतिविधिमा लागेको भन्दै त्यस्ता गतिविधि रोक्नमा युवा सङ्घ नेपालका नेता कार्यकर्ता सफल हुनुपर्ने बताउनुभयो । 

एमाले संसदीय दलका नेता एवम् मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले युवा विद्यार्थीको सहयोगमा एमाले मधेश प्रदेशमा ठूलो पार्टी भएको भन्दै आउने दिनमा पनि एमाले विरुद्धको षडयन्त्रलाई चिर्ने काममा युवा सङ्घको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश सरकार युवाका लागि निर्माण गर्ने नीतिको सवालमा पनि युवा सङ्घसँगको समन्वय र सहयोग आवश्यक रहने उहाँको भनाइ छ । राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा जिल्ला आयोजक कमिटीका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सङ्घ नेपालका सहइन्चार्ज सञ्जीव झा, एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् युवा नेता लक्ष्मीनारायण यादव, युवा नेता लवकुमार यादवसहितको उपस्थिति थियो ।