• ८ पुस २०८१, सोमबार

बस्तीमै पुगेर सुरक्षा भत्ता

blog

खलङ्गा समाचारदाता

जाजरकोट, माघ २५ गते । नलगाड नगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता, असहायलगायत सामाजिक सुरक्षा भत्ता बस्तीमै पुगेर वितरण गर्न थालेको छ। 

विगत केही वर्षदेखि नगरका १३ वटै वडाका ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला, बालबालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कबाट बुझ्ने गरेका थिए। भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा भत्ता लिन सेवाग्राहीलाई असहज भएपछि सामाजिक सुरक्षा भत्ता बस्तीस्तरमै पुगेर वितरण गर्न बैङ्कसँग सहकार्य गरिएको थियो।

नगरको वडा नं. १, ५ र ८ को सम्बन्धित वडा कार्यालय, २ र ७ को दल्लीबाट, ३, ४ र ६ नं. वडा कार्यालय कैन, ९ र १० को तात्र, ११, १२ र १३ को तल्लुबगरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो।

नलगाड नगरपालिका–४, औलका पूर्ण अपाङ्गता भएका वकिले कामीले सरकारले दिने भत्ता घरआँगनमै पाउँदा खुसी भएको बताउनुभयो। 

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार अपाङ्गता, वृद्धवृद्धा, शारीरिक अशक्त बैङ्कमा जान नसक्ने भएकाले बस्तीस्तरबाटै भत्ता वितरण थालिएको बताउनुभयो।

अशक्तलाई घरमै भत्ता

हुम्ला समाचारदाताका अनुसार ठेहे स्वास्थ्य चौकीले घरदैलो अभियान सञ्चालन गरेर चार सयभन्दा बढी बिरामीको उपचार गरेको छ। सिमकोट गाउँपालिका–२ को ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले चार दिनमा ४३० जना ६० वर्षमाथिका बिरामीको घरमै पुगेर उपचार गरिएको जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण क्रममा दम, प्रेसर, ढाड तथा घुँडा दुख्ने, पाठेघरलगायतका बिरामी पाइएको बताइन्छ।