• १२ असोज २०८१, शनिबार

प्रदेशको नाम टुङ्गो लाग्ने विश्वास

blog

विराटनगर समाचारदाता 

विराटनगर, माघ २५ गते । प्रदेश १ का प्रदेशप्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको नामकरण टुङ्गो यही कार्यकालमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सभा बैठकलाई पहिलो पटक सम्बोधन गर्दै मङ्गलबार उहाँले नामकरणको विषयमा आमचासो रहेको बताउनुभएको थियो। उहाँले भन्नुभयो, “अत्यधिक जनचासो र जनअपेक्षाको विषय नामकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेश सभा सक्षम हुने विश्वास व्यक्त गर्दछु।” 

खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताउँदै पर्यटन, कृषि, सिँचाइ, उद्योगलगायतको पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। कानुन निर्माण गर्ने कार्यलाई प्रदेश सभाले प्राथमिकतामा राख्नुपर्ने भएकोले वस्तुनिष्ठ कानुन निर्माण गरी छिटोछिटो संशोधन गरिरहनुपर्ने अवस्था र त्यसबाट हुनसक्ने आलोचनाबाट प्रदेश सभा मुक्त हुनुपर्ने उहाँको सुझाव थियो।  

एकात्मक शासन व्यवस्थाको अन्त्य गरी सङ्घीय शासन प्रणाली अवलम्बन गरिसकिएको अवस्थामा सरकारको संसदीय निगरानी महत्त्वपूर्ण भएको बताउनुभयो।