• ८ मंसिर २०८१, शनिबार

क्यान्सरविरुद्ध प्रयास

blog

क्यान्सर अर्थात् अर्बुद रोगलाई एक असाध्य रोगका रूपमा लिइन्छ । शरीरका कुनै पनि अङ्गमा अनावश्यक कोषिकाको निर्माण तथा विस्तार नै यस रोगको जड मानिन्छ । लामो समयसम्मको खोकी, बिनाकारण शारीरिक तौलमा कमी, असामान्य तवरबाट शरीरका कुनै अङ्गबाट रक्त बग्नेजस्ता कारण क्यान्सरका लक्षणका रूपमा बुझिन्छ । विज्ञहरूका अनुसार एक सयभन्दा बढी प्रकारका क्यान्सरले मानव शरीरलाई प्रभावित गर्ने गरेको छ । नसर्ने रोगका रूपमा क्यान्सरले विश्व जनसङ्ख्यालाई आक्रान्त पारिरहेको छ । उपचारका पद्धति विकास हुँदै गए पनि सर्वसाधारणको पहुँच उपचारमा पुग्न सकेको छैन । प्रशस्त खर्च गर्न सक्ने वा बाध्य हुनेले केही जीवनदान पाए पनि सबैका लागि उस्तै हुँदैन । पैसासमेत सकिने र जीवन पनि नरहने रोगका रूपमा क्यान्सरले परिचय पाउँदै गएको छ ।

 पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा झन्डै दुई करोड मानिस क्यान्सर रोगका विभिन्न स्वरूपबाट पीडित छन् भने बर्सेनि एक करोड मानिसले यस रोगबाट ज्यान गुमाउँछन् । यस्तै ८८ लाखभन्दा बढी महिला यो रोगबाट पीडित रहेको स्थिति छ । वस्तुतः यही कारणले क्यान्सर रोग हुन्छ भन्ने निक्र्योल नभए पनि हालसम्मको जानकारीअनुसार धूमपान, मद्यपान, जीवनशैली, वंशाणुगत, हर्मोन, रेडियसन आदि कारणले मानवमा क्यान्सरका कोषिका विकसित हुन सक्छन् । आधुनिक विज्ञानले विभिन्न किसिमका चिकित्सकीय परीक्षणबाट शरीरमा क्यान्सरको निरूपण गर्न सम्भव तुल्याएको अवस्था छ तर पहुँच भने विस्तार गर्न सहज छैन । हुन पनि क्यान्सर रोगको उपचार आफैँमा निकै महँगो र शारीरिक दृष्टिकोणबाट पीडादायी हुने गरेको छ । नेपालजस्ता तुलनात्मक रूपमा कम चिकित्सा सुविधा भएका मुलुकमा यो रोगको उपचार आर्थिक, शारीरिकलगायतबाट कष्टकर मानिन्छ । फलस्वरूप क्यान्सर रोगको पहिचान, उपचार गर्न बर्सेनि हजारौँ नेपाली भारतलगायतका छिमेकी तथा अन्य मुलुकमा जानु परिरहेको अवस्था पनि विद्यमान छ । 

कष्टकर तथा आर्थिक दृष्टिकोणबाट महँगो क्यान्सर रोग लागेर उपचार गर्नुभन्दा यसको रोकथाम नै सर्वोत्तम हुने आम चिकित्सकीय राय रहेको पाइन्छ । विश्वमा क्यान्सर रोगको विस्तार बढ्दै गएसँगै यस रोगबारे जनचेतना विस्तार अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सरविरुद्धको दिवस पनि मनाउने गरिएको छ । रोग लाग्नुभन्दा रोगको रोकथाम महŒवपूर्ण हुने सन्दर्भमा सन्तुलित आहार, उपयुक्त जीवन शैली, निरन्तरको औषधोपचार, भ्याक्सिन लगाउनेजस्ता कार्य गर्न सकिएमा क्यान्सरको जोखिमबाट बच्न सकिने आधार हुन् । क्यान्सर रोगबाट मुक्ति पाउन असम्भव छैन तर यसका निम्ति निरन्तर उपचार तथा रोगीलाई घर परिवारको साथ, सहयोगका साथै रोगी स्वयंको उच्च मनोबल निकै महत्वपूर्ण पक्ष रहेको मान्यता छ । औषधि विज्ञानको सफलतासँगै क्यान्सर रोगविरुद्धको लडाइँमा केही सफलता पनि प्राप्त हुँदै आएको छ । 

मानव शरीरमा क्यान्सर रोग लागेपछि यसको विस्तार रोक्न विभिन्न चिकित्सकीय उपाय पनि उपलब्ध छन् । केमियोथेरापी, रेडियसन, शल्यक्रिया, लेजर थेरापी, इमुनोथेरापीलगायतका उपचारात्मक विधि बिरामी प्रयोग गरिँदै आएको समेत पाइन्छ । यी उपायलाई क्यान्सरको उपचारका साथै रोगीका निम्ति सहज तरिकाले जीवनयापन गर्ने पद्धतिका रूपमा लिइने गरिएको छ । नेपालमा पनि बर्सेनि क्यान्सर रोगबाट पीडितको सङ्ख्या बढ्दो रूपमा रहेको छ । नेपालमा यससम्बन्धी विशिष्टीकृत अस्पताल पनि निकै कम मात्र छन् । यस रोगबाट बच्नका रोकथाम, निदान तथा उपचारमा जोड दिनुको विकल्प देखिँदैन । यसअन्तर्गत बेलाबेलामा यस रोगबारे परीक्षण, जनचेतना अभिवृद्धि तथा रोकथामका विभिन्न कार्यक्रम सञ्चालनका अतिरिक्त गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु आवश्यक देखिन्छ । 

पीडादायक तथा आर्थिक दृष्टिबाट महँगो क्यान्सर रोगको उपचारका निम्ति सरकारलगायतका निकायबाट निःशुल्क वा सहुलियतपूर्ण उपचारको अपेक्षा गरिनु अस्वाभाविक होइन । यसतर्फ सम्बद्ध सरकारी, निजी वा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको सहकार्य तथा समन्वय त्यत्तिकै जरुरी देखिन आउँछ । प्रा.डा. उर्मिला प्याकुरेलले क्यान्सरसित लड्दै विद्यावारिधि अध्ययन र त्यससँगै विश्वविद्यालयमा प्राध्यापकको सेवामा अब्बल देखिएको उदाहरण आफँैमा प्रेरणादायी छ । रोग लागेपछि आत्तिनेभन्दा पनि त्यससँग लड्न, आत्मविश्वास उच्च पार्नु जरुरी छ भन्ने देखाउन यो प्रेरणा उपयोगी छ । क्यासन्सरविरुद्ध लड्न एकीकृत तवरमा तर विस्तारित कार्ययोजनामा काम गर्नु वाञ्छनीय देखिन्छ ।