• २३ चैत २०८१, शनिबार

छैटौं बज्रगुरु मन्त्र जप पूजाको तयारी पूरा

blog

सुकेटारस्थित बज्रगुरु मन्त्र जप पूजास्थलमा निर्माण गरिएको पूजा मण्डप ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २२ गते। ताप्लेजुङको सुकेटारमा शनिबारदेखि सुरु हुने छैटौँ बज्र गुरु मन्त्र जप पूजाको तयारी पूरा भएको छ। विश्व शान्तिको कामना तथा मानव एकताका लागि आयोजना गरिएको तीन दिने धार्मिक पूजा बज्रगुरु मन्त्र जपको तयारी पूरा भएको हो।

बौद्ध धर्म संस्कारमा आधारित बृहत धार्मिक पूजा बज्रगुरु मन्त्र जप लगातार आयोजना गरिँदै आएको छ। बज्र गुरु मन्त्र जप मूल आयोजक समितिका सचिव पासाङरिता शेर्पाका अनुसार भारतका प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्र जप हुने भएको छ। 

प्रमुख लामा रिन्पोछे शुक्रबार अपराह्न ताप्लेजुङ आइसक्नुभएको र उहाँलाई फुङ्लिङ बजारमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको सदस्यसचिव शेर्पाले जानकारी दिनुभयो। प्रमुख लामाको स्वागत कार्यक्रममा बौद्ध धर्ममा आधारित टासी सोल्पा नृत्यसमेत प्रस्तुत गरिएको उहाँले बताउनुभयो। 

शनिबारदेखि सोमबारसम्म सञ्चालन हुने मन्त्र जपमा २० हजार बढी भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ। प्रमुख लामा रिन्पोछेबाट प्रवचन हुने, श्वेत ताराको आयु अभिषेक गर्ने लगायतका गतिविधि मन्त्र जपमा हुने छ। मन्त्र जपले मन शुद्ध भई सबै प्रकारका पुन्य लाभ हुने र बिघ्नबाधा समाप्त भई सुख शान्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुने विश्वास गर्ने गरिएको छ।

यता मन्त्र जप सम्पन्न गर्न ५० लाख रुपियाँ बढी खर्च हुने आयोजक समितिले अनुमान गरेको छ। मन्त्र जपमा बौद्धबाहेक हिन्दू, किराँत लगायतका धर्ममा आस्था राख्ने भक्तजनसमेत सहभागी हुने गरेका छन्। ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनको मन्त्र जपमा सहभागिता रहने गरेको छ। भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजनहरू मन्त्र जपमा सहभागी हुन आउने गरेका आयोजकले जनाएको छ। 

वि. सं. २०७३ सालबाट सुरु भएको बज्रगुरु मन्त्र जप पूजा कार्यक्रम कोभिड महामारीको समयमा भने तीन वर्ष स्थगित भएको थियो। महामारीका अन्त्यपछि प्रत्येक वर्ष मन्त्र जप आयोजना गरिँदै आएको छ। मन्त्र जप पूजा आयोजना गर्नु निकै खर्चालु हुने गरेको छ।