• ७ पुस २०८२, सोमबार

नमुना विद्यालय भवन निर्माणको ठेक्कामा भ्रष्टाचार

बलानबिहुलका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा दायर

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) पुस ७ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलानबिहुल गाउँपालिकामा नमुना विद्यालय भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  

आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोइत, निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन, लेखापाल कमलेस कुमार साह, सब–इन्जिनियर सन्तोष कुमार रजक, निर्माण कम्पनी ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि. र कम्पनीका प्रबन्ध निर्देशक राजिव कुमार साहविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

२०७८ चैत २९ मा जारी आशयपत्र अनुसार बलानबिहुल गाउँपालिकाको वडा नम्बर ६ सेहरास्थित जागेश्वर गरहाई जनता मा.वि.को भवन निर्माणका लागि ८ करोड ९८ लाख २१ हजार चार सय ९६ रुपियाँमा ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि.ले गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो ।  

तर कम्पनीले नक्कली कार्यअनुभव प्रमाणपत्र पेस गरेको र एकमात्र बोलपत्रदाता भएर पनि योग्यता नपुगेको अवस्थामा गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुले मिलेमतोमा ठेक्का दिलाएको आयोगको ठहर छ ।  

सार्वजनिक खरिद ऐन विपरीत अयोग्य कम्पनीलाई छनोट गरिएको, बोलपत्र मूल्याङ्कन समितिमा अध्यक्ष स्वयं संयोजक बनेर बदनियतपूर्वक निर्णय गराएको, फर्जी कार्य अनुभवका प्रमाणपत्रहरु प्रस्तुत भएको थाहा हुँदाहुँदै थप कागजात माग गरी मूल्याङ्कनलाई प्रभाव पारिएको, अयोग्य कम्पनीलाई प्राविधिक योग्यता पूरा गरेको भनी सफल घोषित गरी सम्झौता गराइएको र तीन करोड ९१ लाख १७ हजार चार सय ८२ रुपियाँ भुक्तानी समेत भइसकेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कुल ठेक्का रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवानाको माग गरेको छ ।  साथै भुक्तानी भइसकेको रकम असुल गर्न समेत मागदाबी गरिएको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार प्रतिवादीहरु लाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम उक्त कायम भएको विगोमध्ये खर्च भएर गएको रकम तीन करोड ९१ लाख १७ हजार चार सय ८२ रुपियाँ विगो असूल उपर हुने मागदाबी लिइएको छ ।