हालै गरिएको राष्ट्र बैङ्कको वित्तीय साक्षरतासम्बन्धी एक आधार सर्वेक्षणले नेपालमा वित्तीय साक्षरताको अवस्था तुलनात्मक रूपमा राम्रो भएको नतिजा देखाएको छ । यसको अर्थ हो– देशमा वित्तीय ज्ञान, सीप र व्यवहार भएका मानिसको सङ्ख्या बढ्दो छ । आमनागरिकमा वित्तीय सेवाको पहुँच बढाउन, सेवाको छनोट र सही प्रयोग गर्न र व्यक्तिगत, पारिवारिक आर्थिक उन्नतिका लागि वित्तीय साक्षरता आवश्यक छ ।
पैसाका बारेमा विवेकसम्मत निर्णय र त्यसको सही व्यवस्थापन गर्न आवश्यक पर्ने ज्ञान, सीप र व्यवहार नै वित्तीय साक्षरता हो । सहज रूपमा यसलाई सोचेर खर्च गर्न, बचाउन र कमाउन सिकाउने शिक्षा हो भनेर पनि बुझ्न सकिन्छ । यस्तो ज्ञान, सीप र सोअनुसार व्यवहार भएका मानिस वित्तीय रूपमा साक्षर मानिस हुन् । पढेलेखेका सबै मानिस वित्तीय हिसाबले साक्षर हुन्छन् भन्न सकिन्न । वित्तीय ज्ञान, सीप र व्यवहारले मानिसको भविष्य सम्पन्न, विपन्न कस्तो हुन्छ भन्ने कुराको सङ्केत गर्दछ ।
कुनै व्यक्तिसँग वित्तीय लक्ष्य निर्धारण गरिएका छन्, आम्दानी खर्चको योजना (बजेट) र हिसाबकिताब नियमित छ, वित्तीय सेवा, सेवाप्रदायक र तिनीहरूको छनोट गर्नेबारेमा जानकारी छ, वित्तीय लक्ष्यको आधारमा बचत गर्ने तथा अन्य वित्तीय सेवाको सही प्रयोग गर्ने बानी छ, नियमित वार्षिक रूपमा आफ्नो सम्पत्ति र दायित्वको लेखाजोखा गर्ने अभ्यास छ, भुक्तानी गर्र्नुपर्ने विषयको समयमा भुक्तानी गर्ने बानी छ भने त्यस्ता व्यक्ति असल वित्तीय व्यवहार भएका र वित्तीय हिसाबले साक्षर व्यक्ति हुन् भन्न सकिन्छ । यिनै कुराको आधारमा हामी आफ्नो वित्तीय ज्ञान र व्यवहारको मूल्याङ्कन गर्न अर्थात् वित्तीय हिसाबले साक्षर हौँ वा होइनौँ, त्यसको निक्र्योल गर्न सक्छौँ ।
वित्तीय साक्षरताले वित्तीय समृद्धि प्राप्तिमा ठूलो भूमिका निर्वाह गर्छ । विश्व परिवेशलाई हेर्दा तुलनात्मक रूपमा वित्तीय साक्षरता दर बढी भएका देश सम्पन्न छन् । वित्तीय स्रोतको उपलब्धता मात्रभन्दा पनि त्यसको सही व्यवस्थापनले सम्पन्नतालाई निर्धारण गर्दछ । धेरै आम्दानी भएर पनि आर्थिक सङ्कटमा परेका र कम आम्दानी हुँदा पनि सम्पन्न हुँदै गएका कतिपय उदाहरणले यसको स्रोतको सही प्रयोगको महत्त्व पुष्टि गर्दछ । थोरै आम्दानीले नै परिवार चलाउनुपर्ने अनि भविष्यका लागि केही बचाउनु पनि पर्ने हाम्रो देशको परिस्थितिमा वित्तीय ज्ञान, सीपको विस्तार अर्थात् वित्तीय साक्षरताको अझ अझ
बढी महत्त्व छ ।
विभिन्न किसिमका वित्तीय सेवाको विविधीकरण र विकास, वित्तीय ग्राहकको हित संरक्षणमा देखिएका चुनौती, विज्ञान र प्रविधिको विकाससँगै वित्तीय कारोबारका विधिमा आएका परिवर्तन आदिका कारणले पनि वित्तीय ज्ञान, सीपको विस्तार अति आवश्यक देखिन्छ । अर्कोतर्फ वित्तीय समावेशीका तीनवटा महत्वपूर्ण तत्वमध्ये वित्तीय साक्षरता पनि एक हो । वित्तीय पहुँच र वित्तीय ग्राहक संरक्षण अन्य दुई महìवपूर्ण पक्ष हुन् । त्यसैले वित्तीय साक्षरता दर बढ्दा वित्तीय समावेशितालाई प्रत्यक्ष टेवा पुग्छ ।
नेपालमा दशक अगाडिदेखि नै वित्तीय साक्षरता÷शिक्षाको विस्तारका लागि विभिन्न प्रयास हुँदै आएका छन् । नेपाल सरकारले वित्तीय साक्षरता र वित्तीय पहुँचलाई प्राथमिकता दिएको छ । सोसम्बन्धी आवश्यक नीति तयार गरेको छ । नेपाल राष्ट्र बैङ्कले आवश्यक नीति, नियम निर्देशिकाको तर्जुमा साथै विभिन्न प्रवद्र्धनात्मक सामग्री निर्माण र विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्य वित्तीय तथा गैरवित्तीय सङ्घसंस्थाले पनि आ–आफ्ना क्षेत्रबाट वित्तीय सचेतना विस्तारका कार्य गर्दै आएका छन् । तिनै प्रयासको प्रतिफलस्वरूप हाल वित्तीय साक्षरता दर (अवस्था) ५७. (बिन्दु) ९ प्रतिशत पुगेको छ । वित्तीय उत्पादन÷सेवा (फाइनान्सियल प्रडक्स÷सर्भिसेस)को जानकारी (कम्तीमा पाँचवटा), बचत, ऋण, बीमा आदिको प्रयोग, वित्तीय आवश्यकता परिपूर्तिका लागि परिवार तथा साथीसँग भर गर्नुपर्ने अवस्था आदिको आधारमा सो सर्वेक्षण गरिएको देखिन्छ ।
ग्लोबल फाइनान्सियल लिटरेसी सर्वे सन् २०१५ को तथ्याङ्कको आधारमा नेपालमा वित्तीय साक्षरताको दर १८ प्रतिशत देखाइएको थियो । त्यसपछिका सात वर्ष हाराहारीको अवधिमा वित्तीय साक्षरतामा दर (अवस्थामा)मा आएको हालको यो ५७.९ प्रतिशतको उपलब्धिलाई उत्साहजनक मान्न सकिन्छ, अर्थात् यो दिक्कलाग्दो अवस्था होइन तर छोटै समयमा देखिएको यो फड्कोको विषयमा राम्ररी समीक्षा गर्नु उपलब्धिपूर्ण हुन सक्छ ।
सर्वेक्षणले देखाएकोे उक्त दर डेनमार्क, नर्वे, स्विडेन आदिजस्ता वित्तीय साक्षरता दर उच्च भएका देशको तुलनामा भने धेरै नै न्यून छ । अर्थात् यो दर ढुक्क भइहाल्न सकिने अवस्था अवश्य होइन । यस अर्थमा उक्त तथ्यले वित्तीय सचेतनाका क्रियाकलापलाई अझै प्राथमिकतामा राखी अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने सङ्केत गर्दछ । सोही सर्वेक्षणलाई आधार मान्दा वित्तीय सेवाको उपयोगमध्ये ८६.६४ प्रतिशतले बचत सेवा प्रयोग गरेको देखिन्छ तर ऋण सेवाको प्रयोग गर्ने भने ४६.३४ प्रतिशत मात्र छन् ।
यसको अर्थ ऋण सेवाको उपयोग थोरै छ । यसले ऋण लिने उद्यम, व्यवसाय सञ्चालन गर्ने रोजगारी सिर्जना गर्नेजस्ता कार्यमा मानिसको उत्प्रेरणा वा सहभागिता कम छ भन्ने सङ्केत गर्छ । बचत पुँजीको सङ्कलन हो र ऋण त्यसको परिचालनको अवस्था हो । पुँजीको परिचालनले मात्र अर्थतन्त्र चलायमान हुन्छ । यसले उत्पादन वृद्धिलाई प्रत्यक्ष प्रभाव पार्दछ, रोजगारीका अवसर बढ्दछन्, पारिवारिक आय बढ्न जान्छ र जीविनस्तर उकासिन्छ ।
वित्तीय सेवामध्ये बीमा सेवाको उपयोगको अवस्था हेर्ने हो भने त्यो झनै कमजोर अर्थात् ३०.०२ प्रतिशत मात्र छ । यसले आकस्मिक रूपमा आइपर्न सक्ने जोखिम, तिनले आफ्नो वित्तीय अवस्थामा पार्नसक्ने समस्या र तिनका न्यूनीकरणका उपायका बारेमा मानिसमा पर्याप्त जानकारी छैन भन्ने कुरा बुझिन्छ र त्यस्ता उपाय अवलम्बन कम गरिएको स्पष्टै देखाउँछ ।
सर्वेक्षणले औपचारिक क्षेत्र (सामान्यतया नियमित वेतन हुने)मा काम गर्नेको वित्तीय साक्षरता दर बढी र कृषि तथा निर्माण आदि अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसको वित्तीय साक्षरता दर कम भएको देखाएको छ । वित्तीय साक्षरताका लक्षित ग्राहकमा नियमित आम्दानी भएकाबाहेक नियमित आम्दानी नभएका, महिला, विद्यार्थी आदि पनि पर्दछन्, जसको आर्थिक जीवनस्तर अभिवृद्धिका लागि वित्तीय साक्षरताको खाँचो छ ।
वित्तीय साक्षरताको दरलाई प्रदेशगत रूपमा देखाइएको छ । यसलाई आधार मान्दा १ नम्बर प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको वित्तीय साक्षरता दर राष्ट्रिय औसत दर (५७.९ प्रतिशत)भन्दा कम छ । यसले पनि ती स्थानमा वित्तीय सचेतनाका प्रसासहरू थप गर्नुपर्ने प्रस्ट पार्दछ । राष्ट्रिय औसत दर नै पनि सय पूर्ण अङ्कको मापनमा आधाभन्दा केही बढी मात्र हो, त्यसकारण देशका धेरै मानिसमा वित्तीय सचेतना पुगेको छ भनेर ढुक्क भइहाल्ने अवस्था यो होइन ।
असल वित्तीय व्यवस्थापन आर्थिक समृद्धिको जग हो । यसका लागि हरेक मानिसमा वित्तीय ज्ञान, सीप र सोअनुसारको व्यवहार हुनुपर्छ । वित्तीय बजार अर्थात् वित्तीय सेवा र तिनको स्वरूप, विधि, प्रक्रिया निरन्तर परिवर्तन भइरहने हुनाले वित्तीय ज्ञान, सीप पनि अद्यावधिक भइरहनुपर्छ । वित्तीय शिक्षा/साक्षरताका विषय, सन्देश परिवर्तित वित्तीय बजारका आधारमा परिवर्तन हुँदै जान सक्छन् ।
केही वर्ष अगाडिसम्म बचतको बानी विकास गर्ने ज्ञान, सीप दिनु जरुरी थियो तर अहिले विभिन्न किसिमका बचत तिनका फाइदाको जानकारी गराउनु र सकेसम्म धेरै बचत गर्न उत्पेरित गर्नु जरुरी भएको छ । पहिले वित्तीय पहुँच वृद्धिका हिसाबमा बैङ्क वित्तीय संस्थामा खाता खोल्न, सदस्य बन्न उत्प्रेरित गर्नुपर्ने अवस्था थियो र अहिले त्यो मात्रभन्दा पनि बचत, ऋण आदि सेवाको अधिकतम परिचालन, लगानीमा विविधीकरण आदिका बारेमा सिकाउनु जरुरी छ ।
पैसाको कारोबारका पक्षमा अहिले विद्युतीय विधिको प्रयोगसम्बन्धी विषयमा सुसूचित गराउनु जरुरी छ । वित्तीय सङ्घसंस्था धेरै भएकाले औपचारिक वित्तीय संस्थासँग कारोबार गर्ने कुरा मात्रभन्दा पनि विशेषताका आधारमा उपयुक्त वित्तीय संस्था छनोट गर्ने विषयमा स्पष्ट जानकारी गराउनुपर्ने अवस्था छ । बीमा, विप्रेषण, वित्तीय ग्राहक संरक्षण, पुँजी बजार आदि अन्य वित्तीय सेवा र क्षेत्रका बारेमा पनि आमनागरिकलाई सुसूचित र अद्यावधिक गराउनुपर्ने स्थिति छ । त्यसैले वित्तीय साक्षरता नियमित, समयसापेक्ष र प्रभावकारी हुनुपर्छ ।
अन्त्यमा सर्वेक्षणको आधारमा देखिएको वित्तीय साक्षरताको अवस्थाकोे हालको उपलब्धि दिक्क मान्नुपर्ने अवस्था त होइन तर ढुक्क भइहाल्न सकिने स्थिति पनि अवश्य होइन । त्यसैले सरकारले स्पष्ट नीति, कार्यक्रम र कार्यजिम्मेवारी निर्धारणसहित वित्तीय साक्षरताको क्षेत्रमा मात्र काम गर्ने गरी कुनै छुट्टै निकाय बनाई वित्तीय साक्षरता/शिक्षालाई प्रभावकारी तरिकाले अभियानकै रूपमा अगाडि बढाउनुपर्छ ।