• २३ पुस २०८१, मङ्गलबार

बढे आर्थिक अपराधका घटना

blog

अनिल पराजुली

हेटौँडा, मङ्सिर ९ गते । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ । 

चालु आर्थिक वर्ष २०८१-८२ को चार महिनाको अवधिमा ४६६ बैङ्किङ कसुर र वित्तीय अपराधका घटना भएको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८-७९ मा ५६३ भएकोमा आव २०७९-८० मा वृद्धि भई ९०४ पुगेको थियो भने गत आवमा एक हजार ३३४ पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको साउनदेखि कार्तिकसम्म आपराधिक घटना बढेको तथ्याङ्कले देखाउँछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको कार्तिकसम्म ज्यान सम्बन्धित ३४९, आत्महत्या सम्बन्धित २८५, चोरी सम्बन्धित १५४, सामाजिक अपराध सम्बन्धित २८९, सवारी सम्बन्धित ९२ र अन्य १४४ अपराधसँग सम्बन्धित घटना घटेका छन् । 

प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ७८-७९ को अनुपातमा ७९-८० मा ६.२२ प्रतिशत र आव २०७९-८० को अनुपातमा २०८०-८१ मा ५.१८ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ ।   आव २०७८-७९ मा चार हजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९-८० मा बढेर चार हजार ६७९ पुगेको थियो भने आव २०८०-८१ मा पाँच हजार १९७ मुद्दा दर्ता भएको छ । प्रहरीको तथ्याङ्क अनुसार चालु आवको कार्तिक मसान्त सम्म एक हजार ७७९ मुद्दा दर्ता भएको छ । अघिल्ला आवको तुलनामा यस आवको चार महिनामा दर्ता भएको मुद्दा तुलनात्मक हिसाबले धेरै  छ । 

त्यस्तै चालु आवको कार्तिक मसान्त सम्म १५४ लागू औषध, २८ कर्तव्य ज्यान, ८१ जबरजस्ती करणी, ५ मानव बेचबिखन तथा ओसार पसार, ३ अपहरण तथा शरीर बन्धक, ३२ डाँका र अन्य ७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

त्यस्तै महिला तथा बालबालिकाविरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको कार्तिक मसान्त सम्म ८१ वटा जबरजस्ती करणी, ८ बहुविवाह, ९ जबरजस्ती करणी उद्योग र ४ वटा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अपराधका घटना भएका छन् ।