• ९ मंसिर २०८१, आइतबार

सिमसार संरक्षणमा चासो

blog

बोलीचालीको भाषामा कहिल्यै पानी नसुक्ने र कहिल्यै जमिन देखिने क्षेत्रलाई सिमसार भनिन्छ । विश्वभर सिमसारका ४१ प्रकार छन् । तीमध्ये नेपालमा खेत, पोखरी, जलासय, ताल, नदी र धाप मात्र पाइन्छ । सन् १९७१ मा फेबु्रअरी २ तारिखका दिन इरानको वाणिज्य सहर रामसारमा विश्व सिमसार सम्मेलन सम्पन्न भएको थियो । सोही मितिलाई आधार बनाई विश्वव्यापी रूपमा सिमसारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइँदै आइएको छ । यस वर्षको नारा ‘सिमसार पुनस्र्थापन गरौँ’ भन्ने छ । यस महासन्धिका पक्ष राष्ट्रलगायत संरक्षणसित आबद्ध सरकारी, अन्तर सरकारी निकायलगायत गैरसरकारी सङ्घसंस्थाले प्रत्येक वर्ष मनाउँदै आएका छन् । 

विश्वमा सन् १७०० देखि लगायत सिमसार मासिँदै गएका केही प्रमाण भेटिएको थियो । यसलाई मध्यनजर राख्दै केही वर्ष अघि रामसार सचिवालयको अध्ययनअनुसार सन् १९७० देखि २००८ का अवधिमा विश्वभरका लगभग ४० प्रतिशत सिमसार लोप भएको आँकडाले देखायो । विश्व वन्यजन्तु कोषको प्रतिवेदनअनुसार सन् १९७० देखि २०१० को अवधिमा लगभग ७० प्रतिशत सिमसारमा आश्रित सजीवका प्रजाति लोप भएको प्रतिवेदन प्रकाशित भयो । यसरी सिमसार लोप हुने क्रम नेपाल पनि अछुतो रहेन । सन् २००९ मा गरिएको हवाई नक्सामा आधारित सर्भेले नेपालभर लगभग ५,३५८ तालको आकलन गरेको थियो । यस अध्ययनले हिमाली क्षेत्र खासगरी तीन हजार मिटरभन्दा माथिको उचाइमा ३१३१ (६० प्रतिशत) र सो भन्दा कम उचाइमा बाँकी २२२७ (४० प्रतिशत) भएको अनुमान गरिएको थियो । सन् २०१६ मा वन तथा वातावरण मन्त्रालयद्वारा गरिएको स्थलगत अध्ययन गरेको प्रतिवेदनअनुसार एक हेक्टर ठूला क्षेत्रफल भएका तालको सङ्ख्या ४८५ वटा (२२ प्रतिशत) प्राप्त भएको आँकडा प्रकाशित गरेको छ । यी तथ्यहरूले विश्वभर सिमसार क्षेत्र खासगरी ताल क्षेत्र मासिँदै गएको प्रमाणको रूपमा लिन सकिन्छ । यसरी विश्वभरका सिमसार तीव्र गतिमा मासिँदै गएको तथ्य प्रकाशित भइरहेको छ । विगत केही वर्षदेखि सिमसार मासिने कारणमध्ये खासगरी जलवायु परिवर्तन हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ । सिमसार मासिनुको महत्वपूर्ण कारण विश्व जलवायु परिवर्तनको प्रभाव नै हो । 

खासगरी जैविक विविधता तथा मानव जीवनका लागि सिमसारको महत्व धेरै छन् । खाद्यान्न, इन्धन, लुगा, ताज पानी, तथा वंशाणु स्रोतको क्षेत्र खासगरी दैनिक उपयोगी वा प्रबन्ध सामग्रीका लागि प्रमुख स्रोत सिमसार हो । यसबाहेकका पारिस्थितिक प्रणाली चलायमान राख्न ऊर्जा वा शक्तिहरू जलीय पारिस्थितिक प्रणालीमा प्राथमिक उत्पादन, पौष्टिक चक्र, माटो सिर्जना तथा कायम राख्नेजस्ता सहयोगी कार्य पनि सिमसार क्षेत्रले गरिरहेको हुन्छ । कतिपय मानव समाजमा प्रचलित धर्मसंस्कार खासगरी सांस्कृतिक, धार्मिक, आध्यात्मिकजस्ता मनोवैज्ञानिक कार्यमा अप्रत्यक्ष रूपमा सहयोगी भूमिका खेलिरहेको हुन्छ । यसबाहेकका वनस्पति खासगरी बालीनाली उत्पादन परागसेचन, जलवायु नियमगन, मिचाह प्रजाति नियन्त्रण, पानी शुद्धीकरण, विपत् नियन्त्रण तथा किराफट्याङग्राको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संयुक्त राष्ट्र सङ्घ वातावरण कार्यक्रमको अध्ययनअनुसार वित्तीय दृष्टिकोणले सिमसारको पारिस्थितिक सेवामार्फत वार्षिक रूपमा लगभग ४७.४ ट्रिलियन अमेरिकी डलर बराबरको मानव स्वास्थ्य, खुसी र सुरक्षा प्रदान गर्ने अनुमान गरिएको छ ।

आज सिमसारले चौतर्फी रूपमा मानवीय तथा प्राकृतिक चुनौती सामना गरिरहेका छन् । तीमध्ये केही प्रमुख प्रभावबारे बुँदागत रूपमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

जलचक्रमा परिवर्तन : जैविक विविधता र पारिस्थितिक प्रणालीको सेवा बृहत जलचक्र सिमसार क्षेत्रमा आधारित छ । विश्व जलचक्र प्रणालीमा आएको परिवर्तनले पानीको उपलब्धतामा कमी आउन थालेको छ । अझ जलविद्युत्मा आधारित विकास आयोजना सिमसार क्षेत्रको चुनौतीको रूपमा देखा परेको छ । 

जलधार क्षेत्रको गुणस्तरमा ह्रास : जलाधार क्षेत्रले जैविक विविधता तथा पानी सञ्चित गर्ने क्षमता निर्धारण गरी पौष्टिक तत्व चक्र परिचालनमा महìवपूर्ण भूमिका निर्वाह गर्छ । नेपालको सन्दर्भमा डाँडाकाँडा तथा वन जङ्गलमा डोजर चलाएर गरिने सडक निर्माणजस्ता गतिविधिले माटोको क्षयीकरण भइरहेको छ । फलस्वरूप जलाधार क्षेत्रको गुणस्तर गिर्दो अवस्थामा रहेकाले वर्षाको पानी सञ्चित गर्न नसकी सतहको माटो, बालुवा, गिट्टी, ढुङगासमेत पानीले बगाएर सिमसार क्षेत्रमा लेदो थुप्रिनेलगायतका गतिविधिले सिमसार क्षेत्र मासिने क्रम बढ्दो छ । 

 सिमसार क्षेत्र अतिक्रमण : नेपालको सन्दर्भमा खेत, धाप, नदी किनार, ताल, पोखरी, कुण्डलगायतका क्षेत्र मिचेर विकासका पूर्वाधार खासगरी बस्ती विकास, खेती विस्तार, सडक निर्माण, विमानस्थल, विद्यालय, खेल मैदानलगायतका विभिन्न भौतिक संरचनाको निर्माण तीव्र गतिमा भई सिमसार क्षेत्रमा अतिक्रमण बढिरहेको छ । यसरी परिमाणस्वरूप सिमसार मासिने क्रम बढ्दो छ ।

वातावरणीय प्रदूषण : सहरी क्षेत्र वा मानव बस्ती नजिकका सिमसार खासगरी खेत, खोला, धाप, ताल तथा पोखरीलगायत सिमसार क्षेत्रमा फोहोरमैला थुपार्नेलगायत अन्य गतिविधि बढिरहेका छन् । यसले पानीको गुणस्तरमा नकारात्मक प्रभाव पर्छ । यसबाहेक वायुमण्डलीय वा वायु प्रदूषण, कृषि क्षेत्रमा प्रयोग गरिने किट्नाशक विषादी तथा रासायनिक मलले पानीमा नकारात्मक प्रभाव पर्न गई गुणस्तरमा ह्रास आउँछ भने जलीय वनस्पतिको अधिक वृद्धि भई कालान्तरमा सिमसार क्षेत्र जमिनमा परिणत भएको छ । 

मिचाह प्रजातिको प्रभाव : जलकुम्भीलगायतका मिचाह प्रजातिका वनस्पतिले सिमसार क्षेत्र लोप भइरहेको छ । यस किसिमका मिचाह प्रजातिले रैथाने प्रजातिलाई विस्थापित गर्छ । नेपालका फेवाताललगायतका विभिन्न ताल मिचाह प्रजातिको प्रभाव सजिलै देख्न सकिन्छ ।

स्रोतहरूको अत्यधिक दोहन : जलीय स्रोत खासगरी माछा, जलीय वनस्पति जसलाई खाद्यान्नलगायत अन्य उद्देश्यका लागि उपयोग गरिने स्रोत आवश्यकताभन्दा बढी सङ्कलन गर्ने मानवीय प्रवृत्ति वा स्वभाव हुन्छन् । जलीय पारिस्थितिक प्रणालीमा बाधा पुग्छ । यस किसिमका गतिविधिले सिमसार लोप गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

अनियन्त्रित पर्यटन : सिमसारको पर्यटनले आर्थिक विकासमा टेवा दिएको हुन्छ तर अधिकांश सिमसारमा अधिक पर्यटकीय गतिविधि सञ्चालन भई फोहोरमैलालगायत रहेका छन् । उदाहरणका रूपमा पोखराको फेवा ताललगायत अन्य ताललाई लिन सकिन्छ ।

जलवायु परिवर्तन : विश्वव्यापी उष्णताले जलवायु परिवर्तन भएको छ । आइसल्यान्ड जस्तो चिसो हावापानी भएको स्थानमा नयाँ वन सिर्जना भएको समाचार प्रकाशित भएको छ । नेपालका हिमाली क्षेत्रका बासिन्दाको सामाजिक तथा आर्थिक क्षेत्रमा समेत प्रभाव परेको अनुभव छ । हिउँ पर्ने स्थानमा पानी परेको छ भने केरा र सुन्तला नफल्ने स्थानमा ती फल फल्न थालेको, लालीगुराँस समयअगावै फुलेका समाचार पढ्न वा देख्न पाइन्छ भने यसको प्रभाव सिमसार क्षेत्रमा पनि परेको छ ।

नेपालले सिमसार संरक्षणमा पक्ष राष्ट्रको हैसियतले मात्र नभई पराम्परदेखि संरक्षण गर्दै आएको छ । नेपालले सिमसार संरक्षणका लागि जनचेतना अभिवृद्धि गरी स्थानीय जनताको क्षमता विकास गरेको छ । फलस्वरूप विभिन्न किसिमका प्रचार सामग्री खासगरी लेख, रचना, पोष्टर प्रदर्शनी, टिसर्ट, टोपी, लोगो, भिडियो, अन्तक्र्रिया, अन्तर्वार्ता, कार्यशाला गोष्ठी, सीमसारसम्बन्धी प्रकाशनलगायत विविध कार्यक्रम र सामग्री तयार गरी सिमसारबारे जनचेतना अभिवृद्धि गर्दैै आएको छ । नेपालमा पनि संयुक्त राष्ट्र सङ्घले तय गरेको नारासहित संरक्षणसित आबद्ध सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले यो दिवस मनाउँदै आएका छन् । यस कार्यक्रमले केही जनचेतना अभिवृद्धि गरेको केही परिणाम क्रमशः देखिन थालेका छन् । वन तथा वातावरण मन्त्रालयलाई सिमसारसम्बन्धी केन्द्र बिन्दु तोकेर सिमसारसम्बन्धी विश्व सञ्जालमा सहभागी भएको छ । यसबाहेक त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान सङ्ग्रहालयलाई वैज्ञानिक अधिकारी संस्थाको रूपमा तोकिएको छ । नेपालले सिमसार नीति २०६९, देशभर १० वटा सिमसार क्षेत्रलाई विश्व संरक्षण सूचीमा सूचीकृत, देशभरका तालसम्बन्धी अभिलेख तयार, राष्ट्रिय ताल संरक्षण विकास समिति गठन, राष्ट्रपति चुरे संरक्षण तथा विकास समिति, गण्डकी प्रदेशमा ताल संरक्षण विकास प्राधिकरण गठन गरेको छ । स्थानीय जनसमुदायले आफ्नै पहलमा ताल तथा सिमसारसम्बन्धी संरक्षण तथा विकास समिति गठन गरी गैरसरकारी सङ्घ संस्थाले सिमसार संरक्षणमा सहभागी भएका धेरै प्रमाण छन् । सामुदायिक वन उपभोक्ता समितिले ताल संरक्षण गर्दै पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सङ्घीयतापछि कतिपय पालिकाले आफ्नो क्षेत्रभित्रका ताल संरक्षणलाई केन्द्रित गर्दै विभिन्न पर्यापर्यटन कार्यक्रममार्फत आयआर्जनका कार्यक्रमसमेत कार्यान्वयन गरेका छन् । 

काठमाडाैँ उपत्यकका पोखरीलगायत जलकुण्डको पुनर्निर्माण कार्यक्रम तीव्र गतिमा सञ्चालन हुँदै आएका छन् । प्रदेश सरकारले एक गाउँ एक पोखरी कार्यक्रम सञ्चालन गरिरहेका छन् । नेपालका यी प्रयासले यस वर्षको विश्व सिमसार दिवसको ‘सिमसार पुनस्र्थापन गरौँ’ भन्ने नारालाई समय सान्दर्भिक भएको प्रमाणित गरेको छ । विश्व सिमसार दिवसमा नेपाल सरकारले गरेको कार्यक्रममा लेखाजोखा गर्नु अवसरका रूपमा लिनु उचित हुनेछ ।