• ३० वैशाख २०८२, मङ्गलबार

कमला पुल पुनर्निर्माणका लागि प्रदर्शन

blog

लाहान समाचारदाता

लहान, माघ १९ गते ।  सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदीमा उद्घाटन नहुँदै भासिएको पुल पुनर्निर्माण गर्न माग गर्दै हुलाकी सडक निर्माण सङ्घर्ष समितिले प्रदर्शन गरेको छ। 

भासिएको पुलको पुनः निर्माण कार्यमा देखिएको ढिलासुस्तीको विरोधमा मङ्गलबार जुलुस प्रदर्शन गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ साल माघ १९ गते सिरहा हेमनारायण स्मृति सभामा सम्बोधन गर्दै एक वर्षभित्रै बलान र कमलाको पुल निर्माण हुने भनेपछि हुलाकी सडक निर्माण समितिले अनशन तोडेको थियो। 

२०७८ साल असार १७ गते आएको बाढीले पाया धसिएपछि पुनर्निर्माण हुन सकेको छैन। पटक–पटक पुनर्निर्माणका लागि ताकेता गर्दा पनि सुनवाइ नभएकोले फेरि विरोध गर्नुपरेको सङ्घर्ष समितिका संयोजक तथा नागरिक अगुवा रामरिझन यादवले बताउनुभयो। 

कमलाको पुल भएमा सिरहाका स्थानीयलाई मधेश प्रदेशको राजधानी जनकपुरधाम आधा घण्टामा पुग्न सक्छन्। पुल नबन्दा तीन घण्टाको घुमाउरो बाटो जानुपर्ने बाध्यता भएकोले आन्दोलन गर्नुपरेको सिरहाका स्थानीय मनोजकुमार पासवानले बताउनुभयो। कमला पुल निर्माणका लागि सम्बन्धित निकायमा आफूले पहल थालिसकेको बताउँदै सिराहा–३ का प्रतिनिधि सभा सदस्य लीलानाथ श्रेष्ठले पुनः निर्माण चाँडै हुने श्वासन पाएको प्रस्ट्याउनुभयो।