• १२ असोज २०८१, शनिबार

कामधन्दाको मारमा विद्यार्थी

blog

फाइल तस्बिर ।

टङ्कीसिनबारी, माघ १९ गते । विराटनगर महानगर–पालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्। बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाहजस्ता घटना दोहोरिने गरेको छ। अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगर क्षेत्रभित्र यथावत् नै छ। 

विराटनगर–७ मा आदर्श बालिका विद्यालय छ। बालिकामात्र अध्ययन गर्ने आदर्श विराटनगरको एक मात्र विद्यालय हो। विद्यालयमा ३२५ बालिका अध्ययनरत छन्। कक्षा १ देखि कक्षा १० सम्म नेपाली माध्यममा यहाँ पढाइ हुन्छ। 

विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका पढ्छन्। सरदर दैनिक २० देखि २५ बालिका कक्षामा हाजिर हुँदैनन्। घरको कामले नभ्याएर पनि कतिपय बालिका विद्यालय आउनबाट वञ्चित हुने गरेको आदर्शका प्रधानाध्यापक रमेश नेपालले बताउनुभयो। उहाँले आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक रहेको बताउनुभयो। सबेरै उठेर काममा अभिभावक 

हिँड्नुपर्ने भएकाले कलिलो उमेरमा नै बालिकाले घरको काम सम्हाल्नुपर्ने स्थिति रहेको बताउनुभयो। 

कक्षा ७ की १३ वर्षीया पिङ्की राजवंशीलाई विद्यालय आउनुअघि र विद्यालयबाट घर पुगेपछि कामको नै चटारो हुने गर्छ। विराटनगर–८ को अशोक चोक बस्ने राजवंशीको घरमा हजुरबुवा, हजुरआमा, बुवा, आमा र छ वर्षको भाइ छ। राजवंशीको बुवा रमेश राजवंशी र आमा सन्तोषी राजवंशी कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलमा कार्यरत हुनुहुन्छ। राजवंशीका बुवाआमा बिहानै काममा जानुहुन्छ र अबेर राति घर फर्कनुहुन्छ। 

बिहान उठेर घरआँगन बढार्ने, लिपपोत गर्ने, पूजा गर्ने, चिया खाजा बनाउने, भाइको हेरचाह गर्ने र भात पकाएर हजुरबुवा हजुरआमालाई खुवाएर राजवंशी विद्यालय पुग्नुहुन्छ। विद्यालयबाट फर्केपछि पनि भात पकाएर बुवाआमालाई राजवंशीले पर्खने गर्नुहुन्छ। सुत्ने बेलामा विद्यालयको गृहकार्य गर्नुहुन्छ। दाउरामा भात पकाउनु पर्दा चिसो दाउरा नबलेर भात ढिलो पाक्दा विद्यालय छुट्ने गरेको गुनासो राजवंशी गर्नुहुन्छ। 

यस्तै कक्षा ८ मा पढ्ने १४ वर्षीया निर्विषा दुलालको आमा हुनुहुन्न। दुलाल ठूलो बुबाको घरमा बस्नुहुन्छ। दुलाल पनि घरको कामधन्दा सकेर विद्यालय आउने गर्नुभएको छ। घरमा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने दिनचर्या दुलालको रहेको छ। कामबाट समय बच्यो भने विद्यालय आउने दुलाल प्रायः विद्यालयमा अनुपस्थित हुनुहुन्छ। 

विराटनगर–४ स्थित बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले भर्ना भएपछि पनि बालबालिका विद्यालयमा नियमित हुन नसकेको बताउनुहुन्छ। उहाँले अनुपस्थित हुनेमा बालकभन्दा धेरै बालिका नै रहने गरेको सुनाउनुभयो। उहाँले गरिबी, सचेतनाको अभावका कारण अभिभावकले पनि आफ्ना सन्तानलाई काममा लगाइदिने, घरको कामको जिम्मेवारी अबोध बालबालिकाले लिनुपर्ने समस्या अझै विद्यमान रहेको बताउनुभयो। 

विराटनगर–२ स्थित शङ्करपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा पोखरेलले विद्यार्थीलाई विद्यालयमा नियमित गराउनु भनेको फलामको चिउरा चपाए झैँ रहेको बताउनुभयो। उहाँले विद्यालयमा अध्ययन गर्ने कतिपय बालबालिका महिनौँसम्म विद्यालयमा अनुपस्थित हुने बताउनुभयो। एक त आधारभूत विद्यालय पढ्ने बालबालिका आफैँ शारीरिक र मानसिक रूपमा कमजोर हुने त्यसमाथि पनि घरमा भात पकाउनेदेखि भाइबहिनी हेर्नुपर्ने जिम्मेवारीका कारण उनीहरूले पढ्ने वातावरण पाउन नसकेको बताउनुभयो। पोखरेल भाडामा लिएको सिटी रिक्सा लिएर आफैँ अनुपस्थित रहने विद्यार्थीको घर पुग्ने गर्नुहुन्छ। उहाँले अभिभावकलाई सम्झाइबुझाइ गरेर बहुसङ्ख्यक अनुपस्थित रहने विद्यार्थीलाई विद्यालयमा फर्काउनुभएको छ।