• १३ साउन २०८१, आइतबार

दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल

blog

सरोकारवालासँगको छलफलमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : यातायातमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ १७ गते । सवारी तथा यातायात व्यवस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुई पाङ्ग्रे सवारी चलाउँदा चालक तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ।’

खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरूनै पर्ने गरेका छन्। यसैको न्यूनीकरणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा व्यक्तित्वको उपस्थिति थियो।

उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताउनुभयो। ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो। नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं’’, उहाँले भन्नुभयो।

छलफलमा सहभागी एमाले नेता, सांसद योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधन पर्ने भएकाले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनु परिरहेको बताउनुभयो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समिरकुमार अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताउनुभयो। 

झण्डै २५ वर्ष अगाडि प्रहरीले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवादित बनाइएपछि बीचमै रोकिएको थियो। प्रहरी नायब महानिर्देशक (डीआईजी) मीरा चौधरीले आफ्नो सुरक्षाको अपनत्व स्वयं जनताले नै नलिएसम्म नियम लागू गर्न सहज नहुने बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेको तर हेल्मेट भने गुणस्तरीय हुनुपर्ने बताउनुभयो।

छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मासहित विभिन्न विभाग प्रमुख तथा निकायका प्रतिनिधिको उपस्थिति थियो।