• २० चैत २०८२, शुक्रबार

दिगो विकासमा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अनिल पराजुली
हेटौँडा, चैत २० गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको दिगो विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई अक्षरशः पालना गर्दै मर्यादित र सुशासित सहकारी अभियान निर्माणमा लाग्न आग्रह गर्नुभयो।

प्रदेश प्रमुख देवकोटाले सहकारी संस्थाहरू पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा अनुशासित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। निम्न आय भएका किसान, श्रमिक तथा मजदुर समुदायभित्रकै पूँजी परिचालनमार्फत आर्थिक संकट समाधान, उद्यमशीलता विकास तथा बचत संस्कृतिको प्रवर्द्धनमा सहकारीको योगदान प्रशंसनीय रहेको उहाँको भनाइ छ।

उहाँले सहकारी केवल संस्था मात्र नभई “एकका लागि सबै र सबैका लागि एक” भन्ने भावनाले प्रेरित सामाजिक अभियान भएको स्पष्ट पार्दै सहकारीलाई अझ विश्वासिलो, मर्यादित र दिगो बनाउने सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो।

पारस्परिक विश्वासका आधारमा समाजमा आर्थिक तथा सामाजिक न्याय स्थापना गर्ने सहकारीको मर्म वर्तमान समयमा अझ सान्दर्भिक बनेको उहाँले उल्लेख गर्नुभयो।

“उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने नारासहित देशभर मनाइँदै गरिएको ६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उहाँले सम्पूर्ण सहकारीकर्मी, अभियन्ता तथा सहकारीमा आबद्ध दिदीबहिनी र दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।