• १३ साउन २०८१, आइतबार

सन्कट्टी घाटमा पक्की पुल बन्ने

blog

टीकापुर समाचारदाता

टीकापुर, माघ १७ गते ।  सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको गेरुवा गाउँपालिका जोड्न कर्णाली नदी सन्कट्टी घाटमा पक्की पुल बनाइने भएको छ । 

पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले ७५० मिटर लामो पुल, पाँच मिटर कालोपत्रे बाटो र एक किलोमिटर नदी नियन्त्रणका लागि ठेक्का भएको जानकारी दिनुभयो । भण्डारीका अनुसार डिजाइनसहित भ्याटबाहेक एक अर्ब तीन करोडको ठेक्का भएको र चार वर्ष पाँच महिनामा काम पूरा हुनेछ । पुल बनाउन निर्माण कम्पनीले नै डिजाइन गर्नेछ भने सडक विभागले स्वीकृत गर्नेछ । 

रसुवा कन्स्ट्रक्सनका साइड इन्चार्ज कृष्ण ढुङ्गेलले तत्काल पुल बन्ने स्थान चयन गर्ने, माटो परीक्षण गरी अवस्थाअनुसारको डिजाइन गरेर यसै आर्थिक वर्षबाट काम सुरु गर्ने बताउनुभयो । यहाँबाट दैनिक हजार जति नागरिक डुङ्गाको सहायताले आवतजावत गर्ने गरेका छन् । पटकपटक सर्भे मात्रै हुने तर काम नहुने सन्कट्टी घाटमा पुल बन्ने भएपछि स्थानीय खुसी भएका टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले बताउनुहुन्छ । गेरुवा गाउँपालिका–३ का वडाध्यक्ष निर्मल थारूले टापुका जनताले नजिकको टीकापुरबाट बजार, स्वास्थ्य, पाउने बताउनुभयो । स्थानीय थर्कबहादुर शाहका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहज हुनेछ । जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ । पूर्वतिर गेरुवा नदी, निकुञ्जको बफर जोन र पश्चिममा कर्णाली नदीका कारण गेरुवा गाउँपालिकाका बासिन्दाको जनजीवन कठिन छ । यहाँका बासिन्दाले राजमार्गको पहुँच पाउन हुलाकी राजमार्ग जानुपर्छ ।