• ९ मंसिर २०८१, आइतबार

नागरिकमा जागेको उत्साह

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक महिना पार गरेको छ। ‘दिनको सङ्केत बिहानीले गर्छ’ भनेझैँ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको एक महिनामा केही आशा र उत्साह जगाएको देखिन्छ। पछिल्ला ३० दिनमा लगातार २१ दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डले काम कारबाही तीव्र रूपमा अगाडि बढाइराख्नुभएको छ। परिणाममुखी कामका लागि प्रधानमन्त्री आफैँ कार्यक्षेत्रमा उत्रनुभएको छ। यो सरकार परिणाम देखिने गरी काम गर्ने दिशामा अग्रसर छ। 

जनताको दुःख नजिकबाट नियालेर परिणाममुखी कार्यान्वयन र प्रतिफलताका लागि प्रधानमन्त्रीले काम गरिरहनुभएको छ। राहदानी विभागको समस्यालाई आफैँले भोगेको समस्या जस्तै गरी प्रधानमन्त्री प्रचण्डले लिएको पहलकदमी अनुकरणीय छ। वर्षौंदेखि नागरिकले भोगिरहेका समस्यालाई समाधान गर्न कार्यकारी प्रमुख सडकमा ओर्लनु अवश्य पनि सम्बद्ध पक्षलाई थप हौसला दिनु हो। 

वास्तवमा विद्यार्थी, किसान, मजदुर सबैका आफ्नै पीडा छन्। समयमा मल नपाएका किसान वा बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नागरिकको ढाड सेकेको छ। राष्ट्रिय परिचयपत्र र लाइसेन्स प्राप्त गर्न वर्षौंसम्म कुर्नुपर्ने बाध्यता छ। समयमा नतिजा प्रकाशन नहुनेदेखि नियमित परीक्षा नभएकाले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा छ। देशमा भविष्य नदेखेर विदेशिरहेको दृश्य कहालीलाग्दो छ।

ठेक्का लिएर अलपत्र पारेर हिँड्ने निर्माण व्यवसायीको कमी छैन। कागज मिलाएर नीतिगत भ्रष्टाचार गर्नेदेखि मिटरब्याजीबाट पीडित बनेका लाखौँ नागरिक छन्। भूमिहीन सुकुम्बासी होस् या बिहान बेलुका हात मुख जोड्न नसक्ने नागरिक नै किन नहोस्, उनीहरूका अनेकौँ समस्या छन्। आजसम्म नागरिकको स्तरबाट हेर्दा वास्तवमा नागरिक र सरकारको दूरी आकाश पातालको भएको अनुभूति हरेक नागरिकले गरेकै छन्। यस्तो सङ्कटपूर्ण अवस्थामा गठन भएको प्रचण्ड नेतृत्वको सरकारले नागरिकका धेरै समस्यामाथि समाधानका सार्थक प्रयास थालेको सुस्पष्ट छ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले गर्नुभएको प्रयास आफैँमा दूरगामी महìवको छ। नागरिकको जीवनस्तर बदल्ने गरी कार्यसम्पादन गर्न खोजेको छ। हरेक नागरिकले देशमा ‘मेरो पनि सरकार छ’ भन्ने अनुभूति दिलाउने दिशामा यो सरकार अग्रसर छ। 

बितेका एक महिनामा राहदानी र लाइसेन्सको समस्या समाधानका लागि प्रधानमन्त्रीले देखाएको तदारुकताले निश्चय पनि नागरिकमा आशाको दियो बलेको छ। प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा महìवपूर्ण सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य छैन। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइनेछ।” 

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति–पत्र वितरणमा हाल देखिएको समस्यालाई तत्काल समाधान गरिने, एकै प्रकृतिको विवरण फरक फरक निकायबाट सङ्कलन गर्नुको सट्टा डाटा साझेदारी र अन्तर आबद्धताको भरपर्दो प्रणाली निर्माण गरी सेवा प्रवाहलाई छिटो, छरितो, मितव्ययी र झन्झटमुक्त बनाइने प्रतिबद्धतासमेत जनाउनुभएको थियो। 

प्रधानमन्त्री प्रचण्डले गरेको महत्वपूर्ण सम्बोधनको यो अंशमा हरेक नागरिकको वास्तविक समस्या उजागर भएको छ। यो सरकारसँग पनि नागरिकस्तरमा गुनासो हुनु अस्वाभाविक होइन। यसअघिका सरकारबाट जनताको जीवनस्तर उकास्नका लागि ठोस कार्यक्रम अगाडि नबढ्दाको कारणले नागरिकको निराशाको निरन्तरता उस्तै छ। यो सरकारको एक महिनाले त्यही नागरिकको गुनासो र समस्या समाधान गर्ने विषय नै प्रचण्ड नेतृत्वको सरकारको पहिलो प्राथमिकताको विषय हो भन्ने देखाएको छ। सरकारको ‘सुरुवाती चित्र’ले भन्छ – यो सरकार केवल निरासा बाड्न र समस्या सुनाउन होइन, समाधानसहित नागरिकको जीवनस्तर बदल्ने दिशामा छ। 

त्यसो त, प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकाल पनि सम्झनालायक छ। मधेश आन्दोलनमा रहेको बेला स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान र सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण सुरुवात प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा भएको थियो। बढ्दो मूल्यवृद्धिलाई नियन्त्रणमै राखेर आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पु-याउँदै ऐतिहासिक रेकर्ड कायम गरी प्रधानमन्त्री प्रचण्ड दोस्रो कार्यकालमा एउटा आर्थिक मानक स्थापित गर्न सफल बन्नुभएको थियो। दैनिक १८ घण्टे लोडसेडिङबाट मुक्त गरी मुलुकलाई लोडसेडिङमुक्त बनाउने काम पनि प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमै भएको हो। प्रधानमन्त्रीको दोस्रो कार्यकाल छोटो थियो, तर त्यो कार्यकालमा अवश्य पनि दूरगामी महत्वका काम भएका थिए। त्यसबाट पनि प्रचण्ड नेतृत्वको सरकारबाट आशा गर्ने ठाउँ धेरै छन्। अहिले प्रचण्ड सरकारको एक महिनाको कामको चित्र हेरेर मात्रै होइन, उहाँ नेतृत्वको सरकारले गरेका विगतका काम हेर्दा पनि नागरिकले फेरि उही निरासाको गीत गाइहाल्नुपर्ने अवस्था छैन।

प्रधानमन्त्री प्रचण्डको यो कार्यकाल हर क्षण मूल्यवान् छ। हरेक निर्णय र काम देशको भविष्यसँग जोडिएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बोल्नुभएको एक वाक्यांश स्मरणीय छ, ‘हीनभावनाको ठाउँमा आशा र आत्मविश्वास जगाउनु छ। आर्थिक क्रान्तिको साझा सङ्कल्पबाट समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ। इतिहास आजैबाट सुरु हुन्छ म भन्दिनँ। आजसम्मका उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु। हिजो क्रान्ति सुरु गर्दा जुन आवेग मसँग थियो, बीचमा केही अलमलिए जस्तो देखिए पनि आज त्यहीँ आवेग र अठोटका साथ म यो रोस्टममा उभिएको छु। तेस्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन। म विश्वास दिलाउँछु, हरेक पटक संसद्मा म उपलब्धिका ‘डेटा’ र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु।’

हो, आजको दिनमा नागरिकले सिंहदरबारमा फोटो झुन्ड्याउने प्रधानमन्त्री चाहेका होइनन्। नागरिकमा उही हीनभावना र निरासा जगाउने प्रधानमन्त्री चाहेका होइनन्। नागरिकको जीवनस्तर बदल्ने र नागरिकले दिनहुँ भोगिरहेका समस्या समाधान गर्ने प्रधानमन्त्री खोजेका छन्। प्रधानमन्त्री प्रचण्डको सुरुवाती दिनले यो सरकारबाट नागरिकले आशा गर्ने स्थान पक्कै बनाएको छ। आशा छ, प्रधानमन्त्री प्रचण्डको यो कार्यकाल हरेक नागरिकले ‘देशमा मेरो सरकार’ छ भनेर गर्व गर्न लायकको हुनेछ।