• १४ असार २०८१, शुक्रबार

चालिसेलाई उत्कृष्ट आईटी अवार्ड

blog

काठमाडौँ, माघ १५ गते । गोरखापत्रका पेज डिजाइनर सुरेन्द्र चालिसेलाई उत्कृष्ट आईटी अवार्ड प्रदान गरिएको छ। क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको चौथो सन्देश इन्टरनेसनल सोसल अवार्ड वितरण समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले चालिसेलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो। 

समारोहमा चालिसेसहित अन्य ३८ जनालाई विभिन्न अवार्ड प्रदान गरिएको आयोजक क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले मलेसियामा रहेका सबै नेपालीको सुखदुःखमा दूतावास सधैँ साथमा रहेको बताउनुभयो। गैरकानुनी ढङ्गले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीलाई उद्धार गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “नेपालबाट  रोजगारीमा मलेसिया आउँदा सबै कुरा बुझेर मात्रै आउनुहोस्।”

कार्यक्रमका गैरआवासीय नेपाली सङ्घ एनआरएनए आईसीसी केन्द्रीय सचिव एवं इन्टरनेसनल सोसल अवार्डबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीको हकहितको निम्ति व्यक्तिगत र संस्थागत रूपमा क्रियाशील रहेको बताउनुभयो। कम्पनीका अध्यक्ष सुनील  खड्काले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मानस्वरूप अवार्ड कार्यक्रम गरिएको बताउनुभयो।