• ५ असोज २०८१, शनिबार

‘प्रदेश सरकारले उद्योगमा योगदान दिनुपर्छ’

blog

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), माघ १४ गते । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा बढी योगदानगरेको बताउँदै कृषिको योगदानलाई घटाएर उद्याेगतर्फ बढाउनुपर्ने सुझाव दिनुभएकोछ । 

शनिबार कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको नवौं क्याम्पस सभाको उदघाटन गर्दै योजना आयोगका सदस्य फुँयालले सुदूरपश्चिम प्रदेशको आँकडा झण्डै ४० प्रतिशत योगदान कृषिमा रहेको बताउँदै समग्रमा २७ प्रतिशतमा झार्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उद्योगमा १५ प्रतिसत मात्र योगदान गरेको छ, त्यसलाई बढाएर १९ प्रतिशत पुगाउने र कृषिलाई ४० प्रतिशतबाट घटाएर २७ प्रतिशत झार्नुपर्ने सुझाव राष्ट्रिय योजना आयोगको छ ।’

१५ आर्थिक आवधिक योजनाअनुसार सुदूरपश्चिम प्रदेशको आर्थिक आवधिक योजनामा ११ प्रतिशत हासिल गर्ने भनिए पनि अहिलेसम्मकोे आँकडामा ६ प्रतिशत मात्र आर्थिक वृद्धिदर छ । कृषि, उद्योग र सेवा क्षेत्रलाई ध्यान दिएर योजना बनाउँदा दिगो आर्थिक विकास हुने सदस्य फुँयालले बताउनुभयो । उहाँले उद्योगसँगै सुदूरपश्चिमको आर्थिक वृद्धिका लागि अर्को सम्भाव्य क्षेत्र पर्यटनसमेत रहेको उल्लेख गर्नुभयो । 

लामो समय योजना आयोगमा रहेर सुदूरपश्चिम प्रदेशको गतिविधिलाई हेर्दा पहिलाभन्दा विकासमा फड्को मारेको उल्लेख गर्दै कार्ययोजनाको प्रगति हेर्दा गरिबी अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी नै रहेको छ । फुयाँलले भन्नुभयो, ‘३४ प्रतिशत गरिबी कोभिड अगाडि २०७६–७७ मा घटेर २६ प्रतिशतमा झरेको थियो, कोभिड पछाडि फेरि ३४ प्रतिशतमै पुगेको छ, यसलाई १७ प्रतिशतमा झार्ने लक्ष्य छ ।’

सुदूरपश्चिम प्रदेश प्रतिव्यक्ति आयमा पनि पछाडि परेको छ । आयोगका सदस्य फँयालका अनुसार समग्र देशकोे प्रतिव्यक्ति आम्दानी १३ सय ८१ रहेकोमा अबको दुई बर्षमा १५ सय ९५ नब्बे पुर्याउने लक्ष्य छ । सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आम्दानी आधार वर्ष ६८३ मात्र छ । यसलाई दुई वर्षपछि १२ सय ७० पुगाउने लक्ष्य राखिएको छ ।  

क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न क्याम्पस सभा कार्यक्रममा प्रदेश सभासदस्य खुशीराम चौधरी, रामेश्वर चौधरी, नगरप्रमुख खडकबहादुर रावतलगायतको उपस्थिति थियो । आयोगका सदस्य फुँयालले कैलालीका विभिन्न नदी कटान क्षेत्रको  समेत अनुगमन गर्नुभएको छ ।