• १२ असोज २०८१, शनिबार

आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन : नेता नेम्वाङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १४ गते । पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पदत्याग गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । शहीद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा शनिवार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने बताउनुभयो । संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन् । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रीले राजिनामा दिनुभएको छ, सबै समस्या प्रक्रियाअनुसार समाधान हुन्छ ।”

यी सबै घटनाक्रम स्वाभाविक रुपमा जनताले बनाएको संविधान अन्तर्गत हामी राजनीतिक दलहरु टुङ्गोमा पु¥याउन सक्षम छौं भन्नुहुँदै उपाध्यक्ष नेम्वाङले आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो उहाँले भन्नुभयो, “त्यसैले यो चिन्ताको विषय होइन । म आग्रह गर्न चाहन्छु– यी सम्पूर्ण कुरालाई जनताले जनताका लागि बनाएको संविधान अन्तर्गत हामी पार लगाउँछौं ।” 

आज शहीद दिवसको दिनमा म त्यो फेरि पुरानो भनाइ सम्झन्छु भन्दै उहाँले थप्नुभयो, “जतिसुकै राम्रो संविधान होस्, त्यसले बुद्धि, विवेक र क्षमता चाहिँ बाँड्दैन । मिल्ने भए त एक किलो, दुई किलो, १५ किलो बुद्धि, विवेक क्षमता बाँड्दा हुन्थ्यो नि । तर संविधानले त्यो गर्न सक्दैन ।”