काठमाडौँ, माघ १४ गते । पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ । अहिले दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुल पुग्न सकिने अवस्था छ । दुर्गम पहाडी क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएकोे स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका आयोजना प्रमुख भरतप्रसाद अर्यालले अहिले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि दैनिक औसत रूपमा सरकारले दुईवटाका दरले झोलुङ्गे पुल निर्माण गरिरहेको बताउनुभयो । १५औँ पञ्चवर्षे योजनामा पनि कम्तीमा पैदल हिँडेर आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख गरिएको छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा नदी र खोल्साखोल्सी तर्र्नका लागि आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।
अहिलेसम्म १४३ वटा पहिचान भएका तुइनमध्ये सो ठाउँमा १४१ वटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने कर्णाली र महाकालीको पञ्चेश्वरमा भारत सरकारले सहमति नदिँदा सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न नसकिएको विभागले जनाएको छ ।
“पहिला झोलुङ्गे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले नदी तर्नका साथै आवतजावतमा दूरी घटाउने, पर्यटकीय दृष्टिकोणले झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।”
उहाँका अनुसार पुल निर्माणका लागि सरकारले सबै प्रकारको सहयोग गरेको र झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको हो । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।
विभागमा उपमहानिर्देशक एवं प्रवक्ता महेश अर्यालले देशभर निर्माण भएका झोलुङ्गे पुलले विशेष गरी महिला, जनजाति र उत्पीडनमा परेका वर्ग तथा समुदायका लागि सामाजिक एवं आधारभूत स्वास्थ्य सेवा, अवसर र स्रोतमा पहुँच अभिवृद्धि भएको बताउनुभयो । नदी, खोल्साखोल्सी तर्नका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीयका लागि यातायात सुविधा उपलब्ध भएको, हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको छ ।
“देशैभर धमाधम निर्माण भएका झोलुङ्गे पुलले कठिन यात्रा गर्दै आएका पैदल यात्रुका लागि आवागमनमा सहज भएको छ,” उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएका झोलुङ्गे पुलले गाउँगाउँमा पर्यटकीय दृष्टिले समेत नौलो आयाम थपेको छ ।”
झोलुङ्गे पुल निर्माण भई जनताको दैनिक जीवनयापनमा सहज हुनुका साथै सरकारले संवेदनशील दायित्व निर्वाह गरेको छ । जीवन जोखिमको सुरक्षा र अत्यावश्यक आधारभूत सुविधासम्म जनताको पहुँच तथा जीवनस्तर वृद्धिमा झोलुङ्गे पुल निर्माणले पहाडका नागरिकको सामाजिक एवं आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुगेको अर्यालले बताउनुभयो ।
अहिलेसम्म गत असारसम्मको तथ्याङ्कअनुसार देशैभर गरी नौ हजार ७६७ वटा झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । स्थानीयवासीको मागअनुसार अझै करिब दुई हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्नेछ ।