• १२ असोज २०८१, शनिबार

सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्छौँ : मुख्यमन्त्री कार्की

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १३ गते । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्ने बताउनुभएको छ । उहाँले प्रदेशको औचित्यको बिषयमा आवाज उठिरहेको जनाउँदै जनताले अनुभूत हुनेगरी काम गरेर औचित्य पुष्टि गर्ने बताउनुभएको हो ।

आफ्नो गृहनगर झापाको गौरादहमा शुक्रबार गौरादह जेसीजको १० औँ वर्षको पद हस्तान्तरण कार्यक्रममा कार्कीले जनताले देख्न, हेर्न र सुन्न सक्ने प्रदेश बनाउने विश्वास दिलाउनुभयो । प्रदेशका सबै जनताले कुनै न कुनै रूपमा प्रदेश सरकारको उपस्थितिलाई अनुभूत गर्ने गरी काम गर्नेछौँ, कार्कीले भन्नुभयो ।

अघिल्लो पाँच वर्षको कार्यकालमा प्रदेश सरकारको नामकरण समेत हुन नसकेको विषयप्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले अब त्यस्तो नहुने बताउनुभयो । प्रदेश सरकारले अब प्रदेशको नामकरणको बिषयमा छलफल चलाएर चाँडो टुङ्ग्याउँछ, कार्कीले भन्नुभयो, “ सकेसम्म सहमतिमा र नभए प्रक्रियामा गएर भएपनि प्रदेशको नामकरण गर्नेछौँ ।” 

७ वटा प्रदेशहरूमध्ये प्रदेश १ लाई विकास र सम्बृद्धिको दृष्टिले पनि १ नम्बर बनाउन आफ्नो ध्यान केन्द्रित रहने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो । विगतका कमीकमजोरीलाई सच्याउँदै प्रदेश सरकारलाई विकसित र संवृद्ध बनाउन हाम्रो पहिलो प्रयत्न रहनेछ, कार्कीको भनाइ छ ।

प्रदेश सरकारको अनावश्यक खर्च कटौती गर्ने पनि कार्कीले बताउनुभयो । यसैअनुरुप मन्त्रालयको सङ्ख्या घटाउने निर्णय भएको कार्कीले जानकारी दिनुभयो । मन्त्रालय घटाएर खर्च कटौतीको प्रयास सुरु गरेका छौँ र हामी हरेक क्षेत्रमा मितव्ययी भएर काम गर्नेछौँ, मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो ।