• १४ असार २०८१, शुक्रबार

बुटवलमा दुई स्वास्थ्य केन्द्रको निर्माण सुरु

blog

छविलाल पाण्डे 

बुटवल, माघ १३ गते । बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका –१७ को मोतीपुर र वडा –१३ को बेलबासमा सोह्र–सोह्र शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो । 

वडा १७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभयो । स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा १७, १८ र १९ वडाका बासिन्दालाई लाभ हुने बताउनुभयो । 

तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको छ । यसअघि वडा १३ को बेलबासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको स्मरण गर्दै प्रमुख पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि मोतीपुर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । 

यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’ उहाँले भन्नुभयो ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताउनुभयो । निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतीपुर र आसपास क्षेत्रले लाभ लिने बताउनुभयो । उहाँले आगामी दिनमा अरु सुविधा विस्तार गर्दैजाने योजनामा रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा बन्ने स्वास्थ्य केन्द्रले दीर्घकालसम्म लाभ दिलाउने बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताउनुभयो । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मङ्सिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताउनुभयो । 

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताउनुभयो ।