• १६ भदौ २०८१, आइतबार

राजनीतिक प्रभाव

चार पटक सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

blog

कांग्रेस केन्द्रीय समिति बैठक । फाइल तस्बिर

काठमाडौं, माघ १४ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पटक–पटक सर्दै आएको छ। पछिल्लो पटक माघ १५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १२ गते विज्ञप्ति जारी गर्नुहुँदै पुस २२ गते केन्द्रीय कार्य समितिको बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यमा आह्वान गर्नुभएको थियो। त्यसबेला प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन– २०७९ को समीक्षा एवम् समसामयिक विषय बैठकका एजेण्डाका रुपमा राखिएको थियो। 

कांग्रेसको पछिल्लो पटक बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक चार पटकसम्म सरिसकेको छ।

कांग्रेसले एकैचोटी पुस २० गते प्रतिनिधि सभाको पहिलो अधिवेशन सन्दर्भमा पुस २३ गते सिंहदरवारमा संसदीय दलको बैठक बस्ने सूचना निकाल्यो र पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक पुस २८ गते दिउँसाे १ बजेका लागि सर्‍यो। 

पुस २६ गते मुख्यसचिव पौडेलले पुस २८ गते बस्ने भनिएको बैठक पुनः माघ १५ गतेका लागि सारिएको जानकारी दिनुभयो। माघ १५ गते बस्ने भनिएको सो बैठक पनि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको हो । 

माघ १२ गते केन्द्रीय कार्य समितिको बैठक सम्बन्धमा विज्ञप्ति जारी गर्दै पौडेलले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित भएको जानकारी गराउनुभयो। कांग्रेसको पछिल्लो पटक बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक चार पटकसम्म सरिसकेको छ।

पौडेलले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “कांग्रेसको बैठक सर्नुको मूल कारण नेताको व्यस्तता हो । एउटा महामन्त्री झापा, अर्को महामन्त्री अन्तै हुनुहुन्छ । उपसभापति पनि स्याङ्जामा हुनुहुन्छ।” पौडेलले साङ्गठानिक सुदृढीकरणमा नेता व्यस्त भएकाले बैठक सरेको यसमा अरु कुनै कारण नभएको बताउनुभयो। 

स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म सँगसँगै रहेको यसअघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन नयाँ सरकार गठनसँगै भङ्ग भएको थियो । त्यसपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ लाई संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि विश्वासको मत दियो। 

यसखाले फरक बनावटको संसद र राजनीतिक कोर्समा नेतृत्वमा केही समस्या भएको हो भन्ने जिज्ञासामा पौडेलले भन्नुभयो, “नेतृत्वमा कुनै समस्या छैन, जटिलता छैन । नेपाली कांग्रेसका सबै कुरा सर्वसम्मत भएको छ, हाम्रो कलेक्टिभ निर्णय हुन्छ। नेताहरु सबै जना बसेर छलफल गरेर शतप्रतिशत सर्वसम्मत निर्णय हुन्छ।”

कांग्रेसको बैठक सर्नुको मूल कारण नेताको व्यस्तता हो । एउटा महामन्त्री झापा, अर्को महामन्त्री अन्तै हुनुहुन्छ । उपसभापति पनि स्याङ्जामा हुनुहुन्छ।

उहाँले अब उचित समयमा बैठक बस्ने पनि बताउनुभयो। “अनुकूल र उचित समयमा कांग्रेसको बैठक बस्छ” उहाँले भन्नुभयो। यस्तै, प्रतिनिधिसभा सांसदसमेत रहनुभएका महामन्त्री विश्वप्रकाश शर्माले औपचारिक बैठक बस्न नसके पनि अनौपचारिक छलफल चलिरहेको बताउनुभयो।

शर्माले भन्नुभयो, “त्योभन्दा पनि अन्य कुरा अहिले घरायसी विषय र राष्ट्रिय विषय एउटा हुन्छ । हामी अलिकति घरायसी विषयको बारेमा पनि छलफल चलिरहेको छ।” उहाँले समसामयिक राजनीतिक विषयमा पार्टीमा आन्तरिक रुपमा छलफल चलिरहेको बताउनुभएको हो।

राष्ट्रिय राजनीति र समग्र देशमै राष्ट्रपति निर्वाचनको विषय मुख्य रुपमा उठेको बेला केन्द्रीय कार्यसमितिको बैठक प्रभावित बनेको हो कि भन्ने जिज्ञासामा महामन्त्री शर्मा भन्नुहुन्छ, “त्यो हो भन्दा पनि हुन्छ । अहिले बैठक सरेको छ। औपचारिक छलफल आवश्यक छ । राष्ट्रिय विषयमा के गरी जाने भन्नेमा बैठक स्थगित गर्नुभन्दा छलफल गरेर अगाडि बढ्नु आवश्यक छ ।”

आन्तरिक एवम् अनौपचारिक रुपमा भइरहेका छलफलपछि औपचारिक बैठकको टुङ्गो लाउने विषय प्रभावकारी हुने उहाँको भनाइ छ । उहाँले छलफल गरेर पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्ने बताउनुभयो। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।