• १२ असोज २०८१, शनिबार

'विद्यार्थीलाई कुलतमा जान नदिन बहुउपयोगी शिक्षा चाहिन्छ’

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १२ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिभिन्न प्रकारका कुलत तथा लागुऔषधमा युवाहरु फस्दैगएको जनाउँदै यसलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । 

बिहीबार झापाको दमक –३ स्थित ढुकुरपानी माविको ६८ औ बार्षिकोत्सव कार्यक्रममा  मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । “लागुऔषध लगायतका बिभिन्न प्रकारका कुलतमा युवाहरु गइरहेकाले यसलाई रोक्न हामी सबै सचेत बन्न आवश्यक छ” उहाँले भन्नुभयो ।

युवालाई सही मार्गमा लगाउन अहिलेदेखि नै शिक्षामा सुधार ल्याउन आवश्यक रहेको र बहुउपयोगी शिक्षा जरुरी भएकाले यसमा ध्यान जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो । “अहिलेका बालबालिकालाई समयसापेक्ष शिक्षा दिँदै कुलतबाट रोक्नका लागि हामीले प्रयास गर्नुपर्छ” उहाँले जनाउनुभयो ।

विद्यालयको शैक्षिक सुधारमा विद्यालयको प्रधानाध्यापक तथा शिक्षकको मात्र भूमिका नभएर अभिभावक र समाजको समेत महत्वपूर्ण भूमिका हुने भएकाले सबै मिलेर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । भौतिक संरचनालगायत आवश्यकीय भौतिक पुर्वाधार निर्माणमा तीन तहको सरकारले नै समन्वय गरेर सहयोग गर्छ, कार्कीले भन्नुभयो ।

बजेट अभावका कारण यो विद्यालयसहित दमकका अन्य विद्यालयको समेत भवन निर्माणकार्य अलपत्र परेको बिषयमा आफुलाई जानकारी भएको भन्दै बजेटको ब्यवस्थापनका लागि आफुले पनि प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । “बजेट अभावले निर्माणाधिन अवस्थामा रहेका भवनहरु अलपत्र पर्ने अवस्थामा आउन दिइनु हुँदैन भन्नेमा म सचेत छु” उहाँले भन्नुभयो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिका खेल्ने जनाउँदै नीजि बिद्यालयसँग प्रतिस्पर्धी बनाउने गरी लाग्ने बताउनुभयो । “हामी शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र योगदानमा कमी हुन दिदैनौ” उहाँले भन्नुभयो ।