विश्वमा महिलालाई मताधिकार दिने पहिलो मुलुक हो न्युजिल्यान्ड । सन् १८९३ देखि त्यहाँका महिलाले मताधिकार पाएका हुन् । सन् १८४० देखि सन् १९४७ सम्म बेलायतको उपनिवेश रहेको यो मुलुक पहिलो र दोस्रो विश्व युद्धमा बेलायतको पक्षमा विश्वका विभिन्न मुलुकसँग युद्धमा होमियो । युद्धमा क्षति पनि भोग्यो । बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भए पनि त्यहाँ राष्ट्रप्रमुखका रूपमा बेलायती राजा रहने व्यवस्था छ । यो पद भने आलङ्कारिक हो । सरकार प्रमुख अर्थात् प्रधानमन्त्री नै देशको कार्यकारी प्रमुख रहेको यो मुलुक प्रशान्त क्षेत्रको समृद्ध मुलुुक हो ।
बेलायतबाट स्वतन्त्र भएको चार वर्षपछि यो मुलुकले प्रशान्त क्षेत्रको सुरक्षाका लागि सन् १९५१ मा एन्जुस प्रशान्त सुरक्षा सन्धिमा हस्ताक्षर ग¥यो । यो सन्धि न्युजिल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबीच भएको हो । सन्धिपछि यस क्षेत्रको सुरक्षा भरपर्दो र विश्वसनीय बनेको छ ।
२,६८,०२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दुई मुख्य उत्तरी र दक्षिणी टापुसहित दर्जनौँ टापुले बनेका यो मुलुकको अर्थ व्यवस्था कृषि, उद्योग र पर्यटनमा आधारित छ । यहाँको जनसङ्ख्या ५२ लाख पुगेको छ । औसत आयु राम्रोे छ । पुरुषको ८० वर्ष र महिलाको ८३ वर्ष औसत आयु रहेको यो मुलुकमा युरोपेली मूल र रैथाने माओरीका बासिन्दाको बाहुल्यता छ । त्यहाँ मुख्य भाषा अङ्गेजी र माओरी बोलिन्छ ।
शान्त र समृद्ध यो मुलुकमा बेला बखत सङ्कट र विपत्ति आउने गरेका छन् । सन् २०११ मा क्रिसचर्चमा ठूलो भूकम्प जाँदा जनधनको क्षति भयो । सन् २०१९ मा क्रिसचर्चका दुई मस्जिदमा बन्दुकधारीले आतङ्कवादी आक्रमण गर्दा ५० जनाको ज्यान गयो । यो घटनापछि सरकारले बन्दुकसम्बन्धी व्यवस्थामा कडाइ ग¥यो । सन् २०२० देखिको विश्वव्यापी कोरोना महामारीबाट यो मुलुक पनि अछुतो रहन सकेन । सरकारले प्रभावकारी नीति ल्याएकाले मुलुकको अर्थतन्त्र पनि छिट्टै लयमा फर्कियो भने कोरोनाबाट क्षति पनि कम भयोे ।
महिला अधिकारका लागि उदार भएकै कारण यो मुलुकको सर्वोच्च कार्यकारी पदमा महिला पुग्ने अवसर पनि मिल्यो । जासिन्डा आर्डर्न ३७ वर्षमा प्रधानमन्त्री बन्दा विश्वमै चर्चा भयो । अहिले उहाँले आकस्मिक राजीनामा दिँदा पनि चर्चा सेलाएको छैन ।
प्रशान्त क्षेत्रको स्थायित्व, विकास र शान्तिका लागि महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको न्युजिल्यान्डमा अहिले एकाएक राजनीतिले नयाँ मोड लिएको छ । न पार्टीभित्र न त प्रतिपक्षी कहीँकतैबाट चुनौती सामना गर्न नपरेका बेला प्रधानमन्त्री आर्डर्नले अचानक राजीनामाको घोषणा गरेसँगै राजनीतिले नयाँ मोड लिएको हो । उहाँले विकल्प नदिई राजीनामाको घोषणा गरेपछि त्यहाँको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । अब आर्डर्नको उत्तराधिकारी का रुपमा ४४ वर्षीय क्रिस हिप्किन्सले हिजो शपथ लिनुभयो ।
प्रधानमन्त्रीको पदबाट अचानक राजीनामाको घोषणा गर्दै प्रधानमन्त्री आर्डर्नले भन्नुभयो, “अब पनि म पदमा बसिरहनु भनेको न्युजिल्यान्डका लागि हानि पु¥याउनु हो ।” ४२ वर्षीया उहाँले मुलुक र मुलुकवासीका लागि राम्रो काम गर्दै आउनुभएको भनी प्रशंसा भइरहँदा उहाँको यो अभिव्यक्तिले त्यहाँको राजनीति तरङ्गित बनेको छ । उहाँका समर्थक तथा शुभचिन्तक आश्चर्यमा परेका छन् ।
महिला सरकार प्रमुखका रूपमा सधैँ चर्चित उहाँले यसअघि पुरुषको तुलनामा महिला राजनीतिज्ञले सामाजिक तथा पारिवारिक विषयमा बढी चुनौती सामना गर्नुपर्ने बताउँदै आउनुभएको छ । २७ वर्षको उमेरमा सांसद बनी ३७ वर्षमा मुलुकको प्रधानमन्त्री सम्हालेकी उहाँ विश्वकै लागि नमुना र आकर्षक नेत्रीका रूपमा चर्चामा आउनुभयो ।
सन् २०१७ को अक्टोबर २६ मा देशको प्रधानमन्त्री बन्दा उहाँ ३७ वर्षकी हुनुहुन्थ्यो । उहाँको राजनीतिक करिअर लोभलाग्दो थियो । प्रधानमन्त्रीको पद सम्हालेको एक वर्षपछि आमा बनेकी आर्डर्न पदमै रहँदा सन्तान जन्माउने विश्वकै दोस्रो नेत्री हुनुहुन्छ । त्यसअघि पाकिस्तानी नेत्री बेनजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री रहेकै बेला सन्तान जन्माउनु भएको थियो ।
प्रधानमन्त्रीका रूपमा आर्डर्नले आफ्नो सन्तानलाई साथमै लिएर पनि देशको हितमा काम गर्न पछि पर्नु भएन । संयुक्त राष्ट्रसङ्घको बैठकमा सहभागी हुन चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि उहाँ विश्वभर चर्चामा आउनुभयो । कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै उहाँको निकै प्रशंसा भयो ।
साहसी र जिम्मेवार महिला नेत्री आर्डर्नले अप्ठ्यारो समयमा मुलुकलाई सफल नेतृत्व प्रदान गर्नुभयो । उहाँ मुलुकलाई महामारीबाट जोगाउन सफल हुनुभयो । उहाँका कोरोना भाइरस नियन्त्रणसम्बन्धी नीतिले मुलुक कोभिडका कारण निकै कम क्षति हुने देशको सूचीमा पर्न सफल भयो । उहाँले मुलुकलाई आर्थिक मन्दीबाट जोगाउनुभयो । क्रिसचर्च गोलीकाण्ड र ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटको कठिन समयमा पनि उहाँले संयमतापूर्वक असल नेतृत्व प्रदान गर्नुभयो । असल कामकै कारण उहाँ अन्तर्राष्ट्रिय मञ्च र नेताका भाषणहरूमा ‘उदाहरणीय नेत्री’ बन्नुभयो । छ वर्ष देशको नेतृत्वमा रहेकी आर्डर्नले आफ्नो कार्यकाल कति चुनौतीपूर्ण थियो भन्ने भन्ने राजीनामा घोषणाका क्रममा व्यक्त गर्नुभयो ।
आर्डर्नले जलवायु परिवर्तनका असरबाट बच्ने उपायबारे आफूले चालेका कदम, राज्यबाट दिइने आवास सुविधाको कटौती र बाल गरिबी हटाउने आफ्ना कामलाई सम्झनलायक उपलब्धि भन्नुभएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आर्डर्नलाई विद्वता र समानुभूति भएकी नेत्रीका रूपमा प्रशंसा गर्नुभएको छ । विपक्षी दल नेसनल पार्टीका नेता क्रिस लक्सनले देशको सेवाका लागि आर्डर्नलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “पदमा रहेर आर्डर्नले न्युजिल्यान्डका लागि अविश्वसनीय योगदान दिनुभयो ।”
सन् २०१७ को अगस्ट १ मा लेबर पार्टीको नेता निर्वाचित भएसँगै आर्डर्नलाई प्रधानमन्त्री बन्न ढोका खुलेको हो । उहाँ पहिलो पटक प्रधानमन्त्री बनेर मुलुक र मुलुकवासीका लागि राम्रो काम गरेकाले उहाँको पार्टीले सन् २०२० को आमनिर्वाचनमा सहजै बहुमत ल्यायो । फलस्वरूप उहाँ दोस्रो कार्यकाल प्रधानमन्त्री बन्नुभयो ।
प्रधानमन्त्रीबाट राजीनामाको घोषणा गर्नुभएकी उहाँले आउँदो फेब्रुअरी ७ अघि नै लेबर पार्टीको नेताबाट राजीनामा दिने बताउनुभयो । पार्टीका उपनेता ग्रान्ट रोबर्टसनले भने दलको नेताका चयनका लागि हुने निर्वाचनमा आफूले प्रतिस्पर्धा नगर्ने बताउनुभयो । मुलुकमा यसै वर्ष आगामी अक्टोबर १४ मा आम निर्वाचन हुनेछ। चुनावमा लेबर पार्टी नयाँ नेतृत्वसहित मैदानमा उत्रनेछ। नयाँ नेतृत्व भरपर्दो बनेन भने चुनाव जित्न गाह्रो हुनेछ ।
आगामी निर्वाचनमा सत्तारूढ लेबर पार्टी पराजित हुने डरका कारण पनि आर्डर्नले राजीनामा घोषणा गरेको कतिपयको दाबी छ । आगामी चुनावमा पार्टीको जित हुने आफूले ठानेको आर्डर्नको भनाइ छ । उहाँले भन्नुभयो, “शान्तिको समयमा देशको नेतृत्व गर्नु एउटा कुरा हो तर अप्ठ्यारो र सङ्कटका बेला सफल नेतृत्व दिनसक्नु मुख्य कुरा हो।”
मुख्य कुरा त आर्डर्नसँग पार्टीभित्र प्रतिस्पर्धी थिएनन् । उहाँलाई प्रतिपक्षीबाट पनि ठूलो चुनौती थिएन । जनादेशले पनि आगामी अक्टोबरसम्म उहाँलाई नेतृत्वको जिम्मेवारी दिएको थियो तर उहाँले विकल्पबिना नै प्रधानमन्त्री त्याग गर्नुभयो । कतिपयले उहाँको यो बहिगर्मनलाई आदर्शभन्दा पनि जिम्मेवारीबाट पन्छिने असामयिक कदम भनेका छन् ।
जे भने पनि, जस्तोसुकै आरोप/प्रत्यारोप गरे पनि आर्डर्नको राजीनामापछि मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । अब सत्तारूढ लेबर पार्र्टीकोे नयाँ नेतृत्वले आउँदो चुनावसम्म मुलुक हाँक्नुपर्नेछ । उहाँको राजीनामाले आगामी चुनावमा सत्तारूढ पार्टीलाई फाइदा हुन्छ कि बेफाइदा यसै भन्नसक्ने अवस्था छैन । सत्तारूढ दलले के चुनावी एजेन्डा बनाउने हो र प्रमुख विपक्षी दलले के मुद्दा अघि सार्ने हो हेर्ने बाँकी छ ।