म तिम्रो नजिक, टाढा,
वरिपरि, जताततै छु
चुल्होमा छु, चौकामा छु
वनमा छु, बुट्यानमा छु
खेतमा छु, खलियानमा छु
आँगनमा छु, मटानमा छु;
छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन !
म तिम्रो गाउँको पाखामा छु, पहरामा छु
जँघारमा छु, छहरामा छु
पट्यारलाग्दो ढुङ्गे–बगरमा छु
धमिलिँदै गएको सगरमा छु;
छैन भने कतै म तिम्रो प्रेमको सुगन्धमा छैन !
म तिम्रो निश्वासमा छु, उछ्वासमा छु
भरोसामा छु, विश्वासमा छु
चित्कारमा छु, सित्कारमा छु
स्वीकारमा छु, तिरस्कारमा छु;
छैन भने कतै म तिम्रो सम्मानको आसनीमा छैन !
म तिम्रो स्पन्दनमा छु, क्रन्दनमा छु
वर्जनामा छु, बन्धनमा छु
भावमा छु, प्रभावमा छु
भ्रममा छु, विभ्रममा छु;
छैन भने कतै म तिम्रो चेतनाको यात्रामा छैन !
म तिम्रो चरणमा छु, शरणमा छु
अँगालोमा छु, जङ्घामा छु
आवेगमा छु, उत्तेजनामा छु
उन्मादमा छु, अवचेतनामा छु;
छैन भने कतै म तिम्रो सद्भावनाको परिधिमा छैन !
म तिमी सँगसँगै छु र नजिकै छु
तिमीतिरै छु, र जताततै छु
तिम्रो जितको साक्षी छु र
तिम्रो अहङ्कारको अचानो छु;
हे पुरुष !
तिम्री कथित अर्धाङ्गिनी म !
तिम्रो अस्तित्वको अविभाज्य अङ्ग बनेर
चारैतिर फैलिएकी छु;
छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन !