• १३ साउन २०८१, आइतबार

तारादेवीको सम्झनामा स्रष्टालाई सम्मान

blog

काठमाडौँ, माघ १० गते । स्वर किन्नरी तारादवीको पुण्य स्मृतिमा विभिन्न स्रष्टालाई सोमबार सम्मान गरिएको छ। उहाँको १७औँ स्मृतिमा तारादवी स्मृति फाउन्डेसनले कल्पना रञ्जित, यादव खरेल, माणिकरत्न स्थापितलाई नगद २५ हजारसहित सम्मान गरेको हो। कार्यक्रममा गीत/सङ्गीतलाई जीवन्त राख्न तारादवीका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो। तारादवीको यो नेपाली शिर उचाली... बोलको गीतले कार्यक्रममा देशभक्ति छाएको थियो। त्यसपछि कालीपारि दाइ कति राम्रो..., फूलको थुङ्गा..., ए कान्छा... बोलको गीतले सङ्गीतमय भएको थियो। 

फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादवीका गीतलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँका सबै गीत कलेक्सन गरिरहेको जानकारी दिनुभयो। युवा पुस्तालाई पनि तारादवीका गीत पहिचान हुन जरुरी छ, केसीले भन्नुभयो, “तारादवी, नारायणगोपाल भनेका कोहिनुर हीरा हुन्, उनीहरूका कृतिलाई संरक्षण गरे मात्र सङ्गीतको विकास हुन्छ।” कार्यक्रममा अग्रज गायिका ज्ञानु राणादेखि प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एन्जेला श्रेष्ठ, जिना रसाइलीलगायतले तारादवीका कालजयी गीत प्रस्तुत गर्नुभएको थियो।