धनगढी समाचारदाता
धनगढी, माघ १० गते । धनगढी उपमहानगरपालिकावासीको मत आकर्षित गर्न धनगढी गाउँ–जुगेडा सडक मर्मत गर्ने नाराले अघिल्लो निर्वाचनका बेलादेखि नै चर्चा पाउँदै आएको छ। यद्यपि, सडकको अवस्था ज्युँका त्युँ छ। धनगढी उपमहानगरपालिकाका विभिन्न सडक स्तरोन्नतिसमेत हुँदै आएको छ। तर, धनगढी गाउँ–जुगेडा सडक स्तरोन्नति अझै हुन सकेको छैन।
धनगढी उपमहानगरपालिका–१०, जुगेडाकी माला रानाले भन्नुभयो, “बन्छ, बन्छ भनेर त धेरै सुन्यौँ तर सात/आठ वर्ष भइसक्यो तर सडक अहिलेसम्म बनेको छैन।” बिग्रेको सडक नबन्दा दैनिक आफूहरूले सास्ती खेपिरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “म हरेक दिन बिहानै तरकारी बिक्रीका लागि बजारमा जाने गर्छु। यो सडकमा त हामीलाई साइकल चलाउन पनि समस्या छ।”
धनगढी गाउँ चौराहादेखि जुगेडा बी गाउँसम्म छ किलोमिटर दूरी रहेको सडक जीर्ण भइसकेको छ। बाटाभरि खाल्टैखाल्टा छन्। थोत्रो भइसकेको सडकमा बिहान हिँडडुल गर्ने स्थानीय लड्ने गरेका छन्। धनगढी उपमहानगरपालिका–९, गौरी कटानका भोजराज दाहालले सडकमा खाल्टाखुल्टी परेको आठ वर्ष भइसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, “धनगढीका अरू सबै सडक बन्दै छन् तर यो सडक कहिल्यै बन्दैन।” स्थानीय तहको अघिल्लो निर्वाचन र वैशाखमा भएको निर्वाचनमा नेताले यो सडक बनाउने भनेर मत मागेको दाहालको भनाइ छ। तर, कसैले पनि सडक बनाउनका लागि पहल नगरेको उहाँले बताउनुभयो।
यो सडकले वडा नम्बर ८, ९, १० र १२ लाई जोड्छ। दक्षिणतिर कृषिको काम बढी हुने गरेकाले तरकारी बिक्री गर्ने किसानदेखि लिएर दूध उत्पादक, विद्यार्थी बिहानैदेखि सडकमा ओहोरदोहोर गर्ने गर्छन्। पूरै सडक भत्किएर खाल्टैखाल्टा परेकाले आवतजावतमा समस्याका साथै कहिलेकाहीँ दुर्घटना पनि हुने गरेको बताइन्छ। सडक बन्ने भनेर सर्भे गरिए पनि अहिलेसम्म काम नभएको धनगढी उपमहानगरपालिका–८ का सन्तराम रानाले बताउनुभयो।
यो सडक कसले निर्माण गर्ने भन्ने नै अहिलेसम्म निक्र्योल हुन सकेको छैन। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले यो सडकलाई सडक डिभिजन कार्यालय महेन्द्रनगरले बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “सडक बनाउने भनेर हामीले तीन/चार वर्षअगाडि सर्भे गरेको हो। एक करोड रुपियाँको यसै वर्ष ठेक्का भएको मैले पनि सुनेको छु। अरू बाँकी कुरा थाहा छैन।”
सडक डिभिजन कार्यालय कञ्चनपुरले भने अब धनगढी–जुगेडा सडक धनगढी उपमहानगरपालिकाले नै बनाउने जनाएको छ। सो कार्यालयका अनुसार गत असोजमा धनगढी उपमहानगरपालिकाका धनगढी गाउँ–जुगेडासहित सातवटा सडकको एक÷एक करोड रुयियाँको ठेक्का भएको थियो। तर, धनगढी गाउँ–जुगेडा, पुरानो भन्सार, जोखर ताल–बेहडाबाबा रोड एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा बन्ने भन्ने आशयको लिखित पत्र आएपछि यी तीन सडकको बजेट बाँकी चारवटा सडकमा थपेर पुनः ठेक्का गर्ने प्रक्रिया अघि बढाइएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतका अनुसार डिभिजन कार्यालयले चारवटा सडक मात्रै बनाउनेछ। बाँकी तीन सडक अब धनगढी उपमहानगरपालिकाले नै बनाउनेछ।