• १२ असोज २०८१, शनिबार

काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १० गते । झापामा काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द भएको छ। यस कार्यमा संलग्न व्यवसायी आफैँले प्रशोधन बन्द गरेका हुन्। 

यहाँ सङ्कलन र प्रशोधन भएको काँचो सुपारीमा कर छली भएको विषय सार्वजनिक भएपछि व्यवसायीको भेलाले तत्कालका लागि सुपारी सङ्कलन र प्रशोधनको काम बन्द गर्ने निर्णय गरेका हुन्। 

स्थानीय उत्पादन भए पनि भ्याट बिल काटेर बिक्री गर्न नपाएको व्यवसायीको गुनासो छ। अस्वस्थ प्रतिस्पर्धाका कारण काँचो सुपारीको मूल्य अधिक देखाइने भएकाले बिल काटेर बिक्री गर्न समस्या भएको जनाउँदै कर कार्यालयको यस विषयमा ध्यानाकर्षण गराउने पनि व्यवसायीले बताएका छन्।

यहाँका सुपारी प्रशोधन केन्द्रले काँचो सुपारी लिन बन्द गरेपछि सुपारी उत्पादक किसान भने अप्ठ्यारोमा परेका छन्। सिङ्गापुर र इन्डोनेसियाबाट सुपारी आयात रोकिनुपर्ने माग किसानको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाअन्तर्गतको सुपारी जोन सञ्चालक समितिका अध्यक्ष दीपक गौतमका अनुसार किसानले उत्पादन गरेको सुपारीको उचित मूल्य पाउने अवस्था सिर्जना गर्न सुपारी आयात रोकिनुपर्ने बताउनुभयो।

“कोरोना महामारीका समयमा प्रतीतपत्र खुल्न बन्द हुँदा विदेशबाट सुपारी आयात भएको थिएन र यहाँको सुपारीले राम्रो मूल्य पाएको थियो। अहिले फेरि विदेशबाट सुपारी आयात गर्ने खेल भइरहेको सुनेका छौँ र यसले स्थानीय उत्पादनले राम्रो मूल्य नपाउने अवस्था आउन सक्छ,” गौतमले भन्नुभयो। 

तेस्रो देशबाट सुपारी ल्याएर नेपालबाट भारत निर्यात गर्न केही व्यापारी लाग्ने गरेका छन्। स्थानीय उत्पादन स्टक रहेको देखाएर यो दुई वर्ष आयात नभएको सुपारीको परिमाण एकै पटक ल्याएर भारत निर्यात गर्ने कसरत भइरहेको पनि एक सुपारी व्यवसायीले बताउनुभयो।

पूर्वी नाका काँकडभिट्टाबाट अवैध रूपमा हुने सुपारीको कारोबारको विषयमा बारम्बार विवादसमेत हुँदै आएको छ। झापामा मात्र ४० वटा काँचो सुपारी प्रशोधन केन्द्र रहेको र यसमा १० हजार ३५५ मेट्रिक टन प्रशोधित सुपारी उत्पादन हुने कृषि ज्ञान केन्द्र, झापाले जनाएको छ।