• १२ असोज २०८१, शनिबार

प्रचार नहुँदा ओझेलमा कोसीटप्पु

blog

सचिन पोख्रेल

कोसीटप्पु (सुनसरी), माघ १० गते । संरक्षण तथा प्रचारप्रसारको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्न सकिरहेको छैन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा आरक्ष ओझेलमा परेको हो। कोसीटप्पु अर्ना तथा चराको स्वर्गभूमि मानिन्छ।

स्थानीय तहको निर्वाचनपछि कोसी गाउँपालिकाले आरक्षको विकास गर्ने सोच बनाए पनि अपेक्षाअनुसार काम गर्न सकेको छैन। गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले कोसीको मुख्य सम्पत्ति नै कोसीटप्पु हो भन्ने कुरालाई आत्मसात् गरी आरक्ष विकासका लागि प्रयासरत रहे पनि प्रदेश र सङ्घीय सरकारबाट आवश्यक सहयोग र समन्वय नभएको बताउनुभयो।

उहाँले आरक्षआसपासका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्ने गरी आरक्षलाई गाउँपालिकाको मुख्य आर्थिक स्रोत बनाउन लागिपरेको स्पष्ट पार्नुभयो। स्थानीय सरकारले आरक्षको विकास र प्रवद्र्धनमा समन्वय र सहकार्य गर्न चाहे पनि माथिल्लो तहबाट त्यसअनुरूपका काम नभएको उहाँको गुनासो छ। 

कोसीटप्पु क्षेत्र रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्र हो। आरक्षमा अहिले ५२६ प्रजातिका चरा, पाँच सयभन्दा बढीको सङ्ख्यामा अर्ना, डल्फिनलगायत वन्यजन्तु छन्। कोसीटप्पुमा जङ्गल सफारी, हात्ती सफारी र डुङ्गाको मुख्य आकर्षण रहेको छ। अर्ना र चराको अध्ययन गर्ने अध्ययनकर्ताका लागि स्वर्गका रूपमा परिचित छ। 

कोसीटप्पुनजिकै रहेको चतरास्थित सप्तकोसी नदीमा जेटबोटसमेत सञ्चालनमा छ। प्राचीन हरिद्वारका रूपमा रहेको धार्मिक स्थल चतरा र पवित्र तीर्थस्थल वराहक्षेत्र आरक्षनजिकै सप्तकोसी नदीको किनारमा पर्छ। 

प्रचुर सम्भावना हुँदाहुँदै पनि कोसीटप्पु घुम्न अपेक्षाकृत पर्यटक आएका छैनन्। अघिल्लो वर्ष पुस महिनासम्म १२ हजारभन्दा बढी पर्यटक आएका थिए भने यो वर्षको पुस महिनासम्म १० हजार पर्यटक मात्र आएका छन्। विदेशी पर्यटक त विरलै मात्रै आउने आरक्षका कर्मचारीको भनाइ छ। 

आरक्षप्रति सर्वसाधारण पर्यटकको आकर्षण बढ्न नसक्नुको मुख्य कारण प्रचारप्रसारको अभाव नै रहेको कर्मचारीको ठम्याइ छ।

उदयपुर, सुनसरी र सप्तरी गरेर विभिन्न स्थानमा होमस्टेको विकासका लागि पहल भए पनि त्यसले प्रभावकारिता पाउन सकेको छैन। कोसी गाउँपालिकामा रहेको एक्वा बर्ड इको रिसोर्टका सञ्चालक सुरज गिरीका अनुसार पर्यटकलाई आरक्षबारे थाहा दिन प्रचारप्रसारको काममा प्राथमिकता नदिइएको गुनासो गर्नुहुन्छ। कोसीटप्पुका बारेमा व्यापक प्रचारप्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक बढ्ने विश्वास उहाँको छ। त्यसका लागि स्थानीयदेखि प्रदेश र सङ्घीय सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ।