• ८ पुस २०८१, सोमबार

उद्धार गरिएको चितुवा मर्‍यो

blog

बिशाल सुनार

दुल्लु, माघ ९ गते । दैलेखको दुल्लु नगरपालिका –९ पादुकामा उद्धार गरेको ३६ घण्टापछि चितुवा मरेको छ । दुल्लूबाट दैलेख वन डिभिजन कार्यालय ल्याउँदै गर्दा चितुवा मरेको हो । स्थानीय किसानले बँदेलका लागि थापेको पासोमा परेको चितुवाको बर्दिया निकुञ्जबाट खटिएको टोलीले आज उद्धार गरेको थियो । 

किसानले लगाएको अन्नबाली राति बँदेल र दिउँसो बाँदरले नास गर्न थालेपछि कृषकले पासो थापेका थिए । चितुवा दुई दिनअघि पासोमा परेको थियो । पासो राखेको ठाउँमा अस्वाभाविक आवाज आएपछि हेर्न जाँदा चितुवा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय दुल्लूलाई खबर गरेका थिए । 

खबर पाएलगत्तै बर्दिया राष्ट्रिय निकुञ्जबाट आउनुभएका पशु चिकित्सक चित्रबहादुर खड्का सहितको टोलीले चितुवाको उद्धार गरेको थियो । दुई दिनसम्म पासोमा परेकाले चितुवाको पछाडिको भाग नचल्ने गरी घाइते भएको खड्काले बताउनुभयो । चितुवा मरेपछि त्यसको छाला निकालेर राष्ट्रिय अखोटोपहार चितवनमा पठाइने डिभिजन वन कार्यालय दैलेखका निमित्त प्रमुख वेदप्रसाद ढकालले बताउनुभयो ।