• १२ असोज २०८१, शनिबार

आफ्नो गाउँ आफैँ बनाऊँ

जनताले बनाएको सुरुङ कुलो

blog

राजकुमार भट्टराई 

खोटाङ, माघ ९ गते । वि.सं. २०४४ मा खोटाङको रावाबेँसी गाउँपालिका–६, हौँचुर साबिक–८ कट्टीस्थित देउरालीडाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे। लोचा खोला (हौँचुर खोला)को पानी खेतसम्म ल्याउन अन्य विकल्प नभएपछि हौँचुरका केही व्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली सङ्कलन गरेर ओखलढुङ्गा मानेभञ्ज्याङका बिर्खबहादुर मगरको समूहलाई सुरुङ खन्ने जिम्मा लगाइयो। गाउँलेको जग्गा कृषि बैङ्कमा धितो राखेर निकालिएको एक लाख ४४ हजार रुपियाँ ऋण र सङ्कलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो।  

मगरको समूहले देउरालीडाँडामुनि केही भूभाग सुरुङ खने तर माथिबाट पहिरो झरेर सुरुङ पुरियो। गाउँलेले फेरि लामिडाँडा तिर्पाका हर्कबहादुर मगरको समूहलाई सुरुङ खन्ने जिम्मा दिए। केही समय खनेपछि पुनः सुरुङ पुरियो। धन्न उनीहरू बाँचे भने उनीहरूले प्रयोग गरेका हम्मर, छिनो, गैचीलगायतका सामान भित्रै पुरिए। गाउँलेबाट चन्दा र अन्नबाली सङ्कलन गरेर लोचा खोलाबाट देउरालीमुनिसम्म करिब दुई किलोमिटर कुलो निर्माण गरिसकेका हौँचुरवासीलाई खेतसम्म ल्याउन दुई सय मिटर सुरुङ छेड्नु पर्ने बाध्यता थियो। 

दुई पटकसम्म असफल भएको गाउँलेको सपना अन्ततः तेस्रो पटकमा पूरा भयो। २०४८ सालमा प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४९ सालमा हौँचुर गाउँ विकास समितिबाट आफ्नो गाउँ आफैँ बनाउँ शीर्षकबाट विनियोजन भएको ६० हजार रकम र पुनः गाउँलेबाट सङ्कलन गरिएको ४० मुरी अन्नबालीले सुरुङ खनिएको तत्कालीन हौँचुर गाउँ पञ्चायतका उपप्रधानपञ्च एवं कुलो निर्माणका अगुवा खगेन्द्र कार्कीले बताउनुभयो। 

जमिनभन्दा दुई सय मिटर तलबाट पहाड फोडेर दुई सय मिटर नै लामो सुरुङ खन्न हौँचुरकै चार जनाको समूह सफल भयो। देउरालीमुनिबाट खनिएको सुरुङ पुरिएपछि केही वर हलेसोडाँडामुनिबाट स्थानीय चङ्खे सार्की, सरुने नेपाली, स्वर्गीय बिर्खबहादुर कार्की र स्वर्गीय तम्मरबहादुर कार्कीले ०४९ सालबाट ०५२ सालसम्म तीन वर्षमा सुरुङ खन्न सफल भए। स्वर्गीय कार्कीद्वयको खाना पकाउने र माटो फाल्ने जिम्मा थियो भने सार्की र नेपालीको भित्र छिरेर खन्ने जिम्मा थियो।   

“मसँग कैलाखानीमा गएर काम गरेको अनुभव थियो। सोही अनुभव लगाएर त्यो सुरुङ खन्न सफल भएका हौँ। सुरु सुरुमा हम्मर, झम्पल, गैतीलगायतका सामान प्रयोग गरेर खन्यौँ, तर भित्र छिर्दै गएपछि ती ठूला सामान चलाउन सम्भव थिएन र हामीले छिनो, मार्तोलले बिस्तारी खनेका हौँ। खन्दै जाँदा सास फेर्न गाह्रो हुन्थ्यो अनि भुइँमा लमतन्न भएर सुतेपछि तलको चिसोले केही सहज महसुस हुन्थ्यो,” चङ्खे नेपाली त्यो बेलाको अनुभव सुनाउनुहुन्छ। 

सुरुङभित्र मट्टीतेल बाल्दा आँखा पोलेपछि मैनबत्ती बालेर उनीहरू काम गर्थे तर मैनबत्ती सबैतिर नपाएपछि तोरीतेलको दियो बालेर सुरुङ खनेको कुरा सुनाउँदा सार्की र नेपाली दुवैका आँखा रसाए। 

बिनाप्राविधिक पहाड फोडेर सुरुङ खन्नु चानचुने कुरा थिएन। डाँडामा भुइँमा कान थापेर सुन्दै भित्र खनेको टुकटुक आवाज कता जाँदैछ भनेर परीक्षण गर्दै ज्यानको बाजी राखेर सुरुङ खनिएको यथार्थ उनीहरूसँग छ। सुरुङ सम्पन्नपश्चात् लोचा खोलाको पानीले २०५२ सालदेखि हौँचुर गाविसको साबिक ८ र ७ का करिब दुई सय रोपनी जग्गामा दुई बाली धान र एक बाली गहुँ गरी वर्षमै तीन बाली अन्न फल्दै आएको गाउँले बताउँछन्। सोही सुरुङ कुलोको पानी बेँसी खेतसम्म पनि पुग्ने गरेको छ। सुरुङमाथि दुईवटा घर छन्। ती घरलाई कुनै असर नभएको उनीहरूको भनाइ छ। केही वर्षअघि कुलोको स्तरोन्नति पनि गरिएको छ भने बाह्रै महिना कुलोमा पानी सञ्चालन हुन्छ। सुरुङ खन्ने व्यक्तिहरूलाई वडाले यो वर्ष सम्मानको कार्यक्रम पनि राखेको वडाले जनाएको छ। 

सुरुङ कुलोभन्दा तल ऐतिहासिक भूमेस्थान र सुरुङ माथि प्रिमाकोटगढी छ। यी तीनै वडा ऐतिहासिक क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्र बनाउने वडाले योजना बनाएको वडाध्यक्ष चिरञ्जीवी कार्की बताउनुहुन्छ। केही समयभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने उहाँको भनाइ छ। मानव निर्मित सुरुङ कुलो र ऐतिहासिक भूमेस्थान साथै प्रिमाकोटगढी समेटेर पर्यटकीय स्थल बनाएर प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने आशा स्थानीयको छ।