• १३ साउन २०८१, आइतबार

बेग्लै स्वादका काव्यकृति

blog

अमर त्यागीका ‘अदृश्य’ र ‘अक्लान्त’ शीर्षकका दुईवटा बाछिटा सङ्ग्रह र ‘अमानव’ शीर्षकको एक मुक्तक सङ्ग्रहसहित तीनवटा काव्यकृतिहरू गत वर्ष प्रकाशनमा आएका छन् । नेपाली साहित्यमा प्रयोग भएका यी नवीनतम काव्यकृति बेग्लै स्वाद र सन्तुष्टि पस्कन सफल रहेका छन् । नेपाली काव्य विधामा मुक्तकको प्रयोग नौलो होइन । समकालीन मुक्तककारबाट धेरै प्रयोग र प्रस्तुति आइसकेका छन् । यस क्रममा अमर त्यागीले निर्वाह गरेको यो नेतृत्वदायी प्रयोगचिन्तन निकै उल्लेखनीय रहेको अनुभव गर्न सकिन्छ । 

अमर त्यागीका एकसाथ प्रकाशन भएका तीन काव्यकृतिमध्ये ‘अमानव’ मुक्तक सङ्ग्रहभित्र चार सयवटा मुक्तक रहेका छन् । डा. देवी नेपालको भूमिका, लक्ष्मी भट्टराई ‘परिधि’ को प्रकाशकीय र अमर त्यागीको काव्यिक मन्तव्यसहितको यो मुक्तक सङग्रहमा स्वच्छन्द शैलीको चतुष्पदी परम्परालाई अवलम्बन गरिएको  छ । शास्त्रीय छन्द, लोक छन्द वा मुक्त छन्दलाई अनुसरण गरेर लेखिएका यी मुक्तकले देश प्रेम, जीवन दर्शन, विश्वबन्धुत्व, रागात्मकता, सौन्दर्यसिक्तता, मानवीय मूल्य, निष्ठा, आदर्श, सङ्घर्ष र साधनाजस्ता विषय वैविध्यता प्रकाश पारेका छन् । चोटिलो भावधारामा रचिएका यी मुक्तक परस्पर सबै श्रेष्ठ छन् । 

मुक्तक लघु आकारमा सुललित कर्णप्रिय सम्प्रेषणबाट प्रस्फुटित हुन्छ । मानवीय जीवनमा उत्पन्न अनेक प्रकारका तरङ्गित भावधारालाई लयात्मक परिपाटीबाट प्रस्तुत गर्न कौशलपूर्ण शब्दक्रीडा अपरिहार्य हुन्छ । यस क्रममा शब्दक्रीडाका शिल्पी अमर त्यागीको मुक्तकीय संयोजन कुशलतापूर्वक अगाडि बढेको छ । पछिल्लो चरणमा मनोज न्यौपाने, प्रकाश घायल, विवश पोखरेल र राजन सिलवालका मुक्तकले आधुनिक नेपाली मुक्तक धारालाई उत्कृष्ट परम्परामा पु¥याएका सन्दर्भलाई अनुस्मरण गरेर हेर्ने हो भने अमर त्यागीले पनि त्यही उचाइ स्पर्श गर्न खोजेको अनुभव हुन्छ । मुक्तकमा कालचिन्तनको अपरिहार्यतालाई सूक्ष्मतापूर्वक प्रवेश गराइन्छ । कालचिन्तनको यो मर्मज्ञता इतिहासदेखि वर्तमान र भविष्यत्का सम्भावनासम्म दूरद्रष्टा भएर आत्मसात् हुने गर्छ । त्यसैले मुक्तक रचना कोरा कल्पनाका भावुकताभित्र पर्दैन । यसले मितव्ययी शब्दमा व्यापक बहुआयामिक भावार्थको भाष्य उद्घाटित गर्छ । मुक्तकको यात्रादेखि बाछिटाको प्रवर्तनसम्म साधनारत अमर त्यागीको काव्यचिन्तन सामाजिक मूल्य र मान्यतामाथि पृथक् स्वर स्थापना गर्न उद्यत रहेको छ । 

उठान, उत्कर्ष र पुष्टिको स्वरमा अभिव्यञ्जित काव्यपङ्क्ति हो बाछिटा  । आत्मोदय, रोमाञ्चकता र भावोद्रेकताको वजनमा खारिएको नौनी हो बाछिटा  । प्रत्येक अक्षर मन्त्र व्यञ्जित हुँदै गर्दा प्रतीकीय प्रकृत रसध्वनिको प्राञ्जलतामा परिप्रणयित छ यसको मङ्गलाचरण पनि । 

‘अक्लान्त’ र ‘अदृश्य’ शीर्षकका यी दुई बाछिटा  सङ्ग्रहले कविचेतको नवीनतम प्रयोग उद्घाटन गरेका छन् । 

चालीसको दशकदेखि प्रकाशन हुन थालेका अमर त्यागी प्रयोगवादी काव्य लेखनका सन्दर्भमा ‘बाछिटा’का प्रवर्तक स्वीकारिएका छन् । गजल, सूत्रकविता, ताङ्का, मुक्तक, बाछिटा जस्ता प्रयोगवादी काव्य चिन्तनमा उद्यत अमर त्यागी मूलत कविका रूपमा परिचित हुनुहुन्छ । अभिव्यक्ति सम्प्रेषणका क्रममा कलास्वरका अनेक लय सुर, ताल, नाद, झङ्कार र अवयवका लक्षणा र व्यञ्जनालाई प्रयोग गर्न सकिन्छ भन्ने मान्यतालाई चरितार्थ गर्नुभएको छ, अमर त्यागीले । 

एउटै आकार, आकृति र पदचिह्नले वस्तुको स्वरूप पहिल्याउन सकिन्न । अनेक मार्गबाट छिचोल्न सकिन्छ ती संरचनालाई । आयामिक सैद्धान्तिकीलाई नै विरेचन गरेर हेर्ने हो भने लम्बाइ, चौडाइ, आयतन, गुरुत्व आदि पनि सामेल भएको काव्यदंशीय यी ‘प्रायोगिकी’बाट भिन्न रहँदैनन् । अर्थ र मूल्यहरूले तिनको उपयोगिता हासिल गर्न सकिन्छ । 

चेतनाथ धमलाको प्रकाशकीय मन्तव्य र प्रा.डा. रमेश भट्टराई, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. कुमारप्रसाद कोइराला र स्वयं बाछिटा कार अमर त्यागीको मान्यतासहितको ‘अक्लान्तमा ४१० वटा बाछिटा  रहेका छन् भने ‘अदृश्य’ मा ३६० वटा बाछिटा  परेका छन् । 

हाइकुको समकक्षी स्थित त्रिपदी संरचनामा सम्प्रेषित यी काव्यिक रचनाहरूलाई वेद मन्त्रका झैँ ‘वक्रोक्ति विम्ब संहिता’ भनिएको छ । तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तियुक्त यी काव्य विधानअन्तर्गत रहेका बाछिटाले मानवीय मूल्य र मान्यता, अर्थ, औचित्य र अस्तित्व, नैतिकता र आदर्शले शङ्खघोष गर्दै मुलुकमा व्याप्त विसङ्गति, विचलन, शासनहीनताजस्ता अन्योल र असङ्गत पक्षमाथि ‘वक्रोक्ति विम्ब’ ले झटारो हानिएको छ । 

वि.सं. २०५७ देखि निरन्तर कृति प्रकाशन गरिरहनुभएका अमर त्यागीको ख्यातिचाहिँ मुक्तकका अतिरिक्त बाछिटा  काव्य पङ्क्तिले विशेष प्रस्ट पारेको देखिन्छ । प्रकृतिलाई विशेष ‘सशक्त र प्रभावपूर्ण उपजीव्य स्रोत’ ठह¥याइए पनि देश, काल र जीवन दर्शनलाई पनि प्राथमिकताका साथ मुखरित गरिएको छ । 

चेतनाथ धमलाको प्रकाशकीय र डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, र स्वयं बाछिटा कार अमर त्यागीको सैद्धान्तिकी मान्यताबाट देखा परेको ‘अदृश्य’ मा चाहिँ श्रुति, स्मृति, दृष्टि चेत, अनुभव चिन्तनलगायतका जीवन दृष्टिले बिन्दुमा सिन्धु संहिता धारण गरेका छन् । 

विविध कथ्य र बहुआयामिक पृष्ठभूमिका भावभूमिलाई बाछिटा  सैद्धान्तिकीमा वर्णित यी काव्यपङ्क्तिले बौद्धिक दृष्टिकोणको धरातल स्पष्ट गरेको छ । समग्रमा अमर त्यागीका यी तीन काव्यकृतिले नेपाली पाठकलाई नवीनतम रसास्वादन गराएका छन् ।