गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ३० गते । नेपाल बैङ्क लिमिटेडले १२ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको शुक्रबार राजधानीमा बसेको ६३औँ वार्षिक साधारण सभाले २ प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले हालको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार ८३१ रुपियाँको २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६ रुपियाँ बराबरको बोनस सेयर दिन लागेको बैङ्कले जनाएको छ ।
साथै चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने एक अर्ब ४४ करोड पाँच लाख ९० हजार ४८३ रुपियाँ नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
साथै बोनस सेयर वितरणबाट बैङ्कको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपियाँ कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।