• १८ चैत २०८२, बुधबार

सुक्खायाममा विद्युत् आयात नियन्त्रित

लोड व्यवस्थापनमा भने समस्या नहुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । भारतको विद्युतीय खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट नेपाल विद्युत् प्राधिकरणले आगामी अप्रिल १६ (वैशाख ३ गते) देखि दैनिक १६ घण्टा मात्र विद्युत् खरिद गर्न पाउने भएको छ । भारतले नेपालको विद्युत् आयात अनुमति नवीकरण गर्ने क्रममा आपूर्ति समय सीमित गरिदिएको हो । हरेक वर्ष नवीकरण गर्नुपर्ने यो व्यवस्था मङ्गलबार अन्तिम दिन रहेकामा यस्तो अनुमति दिएको हो । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आफ्नो देशको विद्युत् माग उच्च रहने समयमा ‘आइइएक्सबाट डे अहेड’ तथा वास्तविक समय प्रकृतिको विद्युत् निर्यात नगर्ने गरी यस्तो व्यवस्था गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अप्रिल १५ सम्म चौबिसै घण्टा र त्यसपछि साढे दुई महिना १६ घण्टा मात्रै दिने भएको हो । 

अप्रिल १६ देखि ३० सम्म बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म र मे र जुनमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्मका लागि विद्युत् आयातको अनुमति दिएको छ । जुलाई लागेसँगै भने यस्तो आयात २४ सै घण्टा गर्न सकिने भएको छ । यस अनुसार यी ४५ दिनमा अधिक खपत हुने साँझको समयमा केही समस्या पर्ने छ । यद्यपि अन्य सम्झौतामार्फत आपूर्ति हुने विद्युत् भने पूर्ववत् नै नियमित हुने छ । भारतले अप्रिल र मेमा समय कटौती गरे पनि लोड व्यवस्थापनमा भने समस्या नपर्ने शाक्यले बताउनुभयो । आन्तरिक उत्पादनमा भएको वृद्धि, कुलेखानी जलाशयमा पानीको पर्याप्तता र अप्पर तामाकोशी जलविद्युत्को पूर्ण क्षमतामा हुने उत्पादनका कारण समस्या हुँदैन,” उहाँले भन्नुभयो, “गत वर्ष सुक्खायाममा सोलार आवरमा मात्र हामीलाई विद्युत् दिएको थियो । उपयुक्त र सहज तरिकाले नै लोड व्यवस्थापन हुन्छ ।”  

गत असोजमा प्राधिकरणले पावर पर्चेज एग्रिमेन्टमार्फत खरिद गर्न सम्झौता गरेको १८० मेगावाट विद्युत्सहित अन्य सम्झौता अनुसारका विद्युत् भने नियमित रूपमा प्राप्त हुने उहाँले जानकारी दिनुभयो । नेपालका अधिकांश जलविद्युत् आयोजना ‘रन अफ रिभर’ प्रकृतिका भएकाले हिउँदयाममा आन्तरिक उत्पादन एक तिहाइसम्म घट्छ ।