अमरगढी समाचारदाता
डडेल्धुरा, पुस २८ गते । पश्चिम सेती जलविद्युत् आयोजनाको बाँध क्षेत्रको गाउँ सिरोडमा विद्युत् विस्तार गरिएको छ ।नवदुर्गा गाउँपालिका–४, सिरोडमा लामो प्रयत्नपछि विद्युत् विस्तार सम्भव भएको हो ।
साबिकको बेलापुर गाउँ विकास समितिको मुकाम खुनीमा २०६० सालमै विद्युत् लाइन विस्तार भएको थियो । यद्यपि खुनीआसपासका गाउँ सिरोड, कटाल, काकाडपानी, खटौटे, चलकट्टे, इसलेकलगायतका गाउँमा विद्युत् विस्तार हुन दुई दशक लाग्यो । आर्थिक वर्ष २०७८/७९ मा करिब ५० लाख रकमबराबरको ठेक्कापछि गाउँमा विद्युत् विस्तार भएको हो ।
अन्य गाउँमा समेत विद्युत् विस्तार भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मी अवस्थीले बताउनुभयो । वडा नम्बर ५ मा पनि विद्युत् विस्तार अघि बढेको बताइएको छ । गत वर्ष नै विद्युत् विस्तार हुनुपर्नेमा ठेकेदारको लापरबाहीले ढिलाइ भएको अध्यक्ष अवस्थीले बताउनुभयो ।
२०७८ अन्त्यमै विद्युत् विस्तार सम्पन्न गर्नेगरी दुई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामदिनेशराय यादवका अनुसार पोल गाडेर ठेकेदार बेपत्ता भएका थिए । फोन सम्पर्क गरिए पनि ठेकेदार बेपत्ता भएपछि गोरखापत्रमा सम्झौता रद्द गरिने र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनी सूचना प्रकाशित भएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा आएर विद्युत् विस्तार भइरहेको छ ।
आरआर कन्स्ट्रक्सन र शकुन इन्जिनियरिङ निर्माण सेवासँग अमरगढी नगरपालिका, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा विद्युत् विस्तारका लागि (करिब ५० लाख रुपियाँको ठेक्का सम्झौता भएको थियो । तर काम अधुरै छाडेर निर्माण कम्पनी बेपत्ता भएका थिए ।
कार्यालय प्रमुख यादवका अनुसार अहिले विद्युत् विस्तार गर्न ३५ लाखबराबरको भिन्नाभिन्नै तीन स्थान तोकेर पुनः टेण्डर भएको छ । नवदुर्गा, अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिका, परशुराम नगरपालिकामा पनि निर्माण व्यवसायीसँगको ठेक्का सम्झौतामार्फत विद्युत् विस्तार भइरहेको छ । तर समयै काम भने कुनै ठाउँमा नभएको उहाँले बताउनुभयो ।
ठेकेदारले समयमै काम पूरा नगर्ने समस्या रहेको उहाँको भनाइ छ । डडेल्धुराको ७५ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगाउने काम भइरहेको र ठेकेदारले समयमै काम पूरा गरे चालू आर्थिक वर्षभित्रै शतप्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुग्ने कार्यालय प्रमुख यादवको भनाइ छ ।