• ८ पुस २०८१, सोमबार

जनप्रतिनिधिले रोके बालविवाह

blog

प्रेमराज सिम्खडा 

कालीकोट, पुस २४ गते। कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जनप्रतिनिधिको अगुवाइमा बालविवाह रोकिएको छ। बालविवाह हुँदा प्रायः जानकारी नपाए झैँ गर्ने जनप्रतिनिधि पछिल्लो समय भने सक्रिय भएको पाइएको छ।  उमेर नपुगेरै विवाह गर्न खोज्दा रास्कोट नगरपालिका वडा नं. ४ मा वडा अध्यक्ष आफैँले विवाह रोक्नु भएको हो। 

बाजुरा जिल्ला घर भएकी १५ वर्षीय एक किशोरी र रास्कोट नगरपालिका ४ निवासी २० वर्षीय किशोरबीच विवाह हुन लाग्दा वडा नम्बर ४ का वडाध्यक्ष दिनेश सञ्जाल र समाजसेवी गुरुराज सञ्जाललगायत स्थानीयको पहलमा बाल विवाह रोकिएको हो। 

पुस १९ गते बाजुरा जगन्नाथ गाउँपालिका निवासी १५ वर्षीय किशोरीलाई भगाएर रास्कोट ल्याएका रहेछन्। केही दिन लुकीछिपी बसेका किशोर र किशोरी बिच घरमा औपचारिक विवाह हुन लागेको जानकारी पाउना साथ वडा अध्यक्ष पुगेर विवाह रोक्नु भएको स्थानीय दशरथ उपाध्यायले बताउनुभयो। 

सानै उमेरमा विवाह गर्नु गराउन सामाजिक अपराध भएको वडा अध्यक्षले जानकारी गराएपछि कानुन बमोजिम कारबाही भोक्ने वा अभिभावकले आ–आफ्ना केटा र केटीलाई जिम्मा लिने भनेपछि केटी पक्ष छोरीलाई फिर्ता लिन तयार भएको हो। किशोरीका बुवा बिरमान सार्कीले आफ्नो छोरीलाई जिम्मा लिनु भएको उपाध्यायले बताउनुभयो। 

वडा अध्यक्ष दिनेश सञ्जालले स्थानीय जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ, अहिले किशोरीको उमेर १५ वर्ष मात्र भयो। कानुनी रूपमा विवाह गर्न अझै पाँच वर्ष बाँकी छ। पाँच वर्षपछि यही जोडिले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने सर्तमा कागज बनाएर बाल विवाह बदर गरेको बताउनुभयो। स्थानीय गुरुराज सञ्जालले सूचना नपाएको भए विवाह भइसक्ने बताउनुभयो। 

अशिक्षा र अज्ञानताले पहिला पहिला जेजस्ता अपराध भए पनि अब सामाजिक अपराध हुन नदिन सञ्जालले बताउनु भयो। उमेर नपुगी हुने बाल विवाह अझै पनि हाम्रो समाजमा भइरहेका छन्। यस्तो अपराधको अन्त्य गर्न हामी सबैको दायित्व रहेको भन्दै १५ वर्षीय बालिकालाई आज घर फर्काएको उहाँले सुनाउनुभयो। 

कानुनले पनि बालविवाहलाई सामाजिक अपराधका रूपमा लिएको छ। नेपालको दिगो विकास लक्ष्यमा पनि नेपाललाई सन् २०३० भित्र बालविवाह मुक्त नेपाल बनाउने उल्लेख छ। पछिल्लो समय कालीकोटका केही स्थानीय तहमा जनप्रतिनिधि आफैँ बालविवाह सक्रिय भएको पाइएको छ।