• १५ वैशाख २०८२, सोमबार

श्रमदानबाटै बनाए प्रहरीले भवन

blog

काठमाडौँ, पुस २४ गते । आफू बस्ने कार्यालय जीर्ण भई असुरक्षित बनेपछि श्रमदानबाटै प्रहरीले भवन निर्माण गरेका छन्।  अछामको ढकारी प्रहरी चौकीको छकोठे भवन मातहतका प्रहरीले श्रमदानबाट निर्माण सम्पन्न गरेका छन्। यसअघि मकवानपुरको सुनाचुरी प्रहरी चौकी प्रहरीले श्रमदानबाट भवन निर्माण सम्पन्न गरेका थिए। 

प्रहरी श्रमदानबाट हुम्लाको ठेहेमा प्रहरी चौकी निर्माण भइसकेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी मातहतका तीनवटा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका छन्। प्रदेश प्रहरी कार्यालयका दुईकोठे ब्यारेक, दुईकोठे भौतिक पूर्वाधार भवन र दुईकोठे कुकुर शाखा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले शान्तिसुरक्षाको दृष्टिकोणले अति आवश्यक भएका स्थानमा प्रहरीले श्रमदानबाट समेत प्रहरी चौकी बनाएको बताउनुभयो।

उहाँले प्रहरीका पूर्वाधार निर्माणको जिम्मा राज्यको भए पनि स्रोत साधनको व्यवस्थापन गर्न समय लाग्ने अवस्थामा प्रहरीले स्वतःस्फूर्त श्रमदान गर्ने गरेको बताउनुभयो। 

देशभर नेपाल प्रहरीका दुई हजार ६६० प्रहरी कार्यालय तथा मातहतका   एकाइ छन्। तीमध्ये एक तिहाइ प्रहरी एकाइमा अत्यावश्यक भौतिक पूर्वाधारको अभाव छ। ७४२ वटा प्रहरीका एकाइ सार्वजनिक, गुठी वा गैरसरकारी संस्थाका भवनमा आश्रित रहेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार देशभरका प्रहरी युनिटमध्ये  ८४७ प्रहरी एकाइको आफ्नै कार्यालय छैन। ८९७ प्रहरी कार्यालयमा भान्छाघर तथा ८८२ प्रहरी एकाइमा शौचालयसमेत नरहेको पाइएको छ। जसमा प्रदेश १ मा १४२, कर्णालीमा १२३, मधेश प्रदेशमा ११७ तथा लुम्बिनी प्रदेशमा ११६ वटा प्रहरी एकाइमा शौचालय नभएको पाइएको हो।

त्यसैगरी प्रदेश १ मा १३९, कर्णालीमा १२८, मधेश प्रदेशमा १२२, लुम्बिनी प्रदेशमा ११६ मा भान्छाघरसमेत बन्न सकेका छैनन्। देशभरका ९६७ युनिटमा सुरक्षार्थ खटिने प्रहरीका लागि बस्ने र आराम गर्ने ब्यारेकसमेत नरहेको पाइएको छ । तुलनात्मक रूपमा प्रदेश १ मा प्रहरी कार्यालय मातहतका एकाइको भौतिक पूर्वाधार अन्यको तुलनामा कमजोर रहेको पाइएको छ।