काठमाडौँ, पुस २४ गते । भूकम्पले तहसनहस बनेको पल्तोर मणि स्तूप पुनः ठडिएको छ । सो स्थानमा गुरु पद्मसम्भव बास बसेको किंवदन्ती रहेको छ । त्यही आधारमा त्यहाँ स्तूप बनाइएको थियो । तर २०७२ को भूकम्पबाट पूर्णतः ध्वस्त बनेको धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा ठडिएको स्तूपको व्यथा भने बेग्लै छ ।
वर्षमा आधा समयमात्र मानिस जान सकिने समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको स्तूप भूकम्पपछि पुनर्निर्माणको पहल भएन । बरु सो वडा र रुबी भ्यालीका अधिकांश बौद्ध धर्मावलम्बी क्रिस्चियन भए । त्यसपछि उनीहरूले स्तूप रहेको ठाउँमा २० फिट अग्लो क्रस ठड्याए । उक्त कार्यमा रुबी भ्याली गाउँपालिकाका तत्कालीन नेतृत्वको पनि सहयोग रह्यो । गाउँपालिकाका अध्यक्ष नै इसाई भएपछि उहाँले क्रस ठड्याउन गाउँपालिकाबाट दुई लाख रुपियाँ सहयोग दिलाउनुभएको थियो ।
क्रस ठडिए पनि बौद्धमार्गीको आस्थाको केन्द्र रहेको उक्त स्थानमा स्तूप बनाउने पहल भने भयो । त्यसका लागि स्थानीयले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर २ ग्वालदहनिवासी छत्राल साङ्गे दोर्जे रिम्पोछे (जाड्रल रिम्पोछे)लाई अनुरोध गरे । उहाँको पहलमा उहाँकै शिष्य लामा साङ्गे (निकेस मगर)को नेतृत्वदायी भूमिका रह्यो ।
स्थानीय बौद्ध धर्मावलम्बीले २०७९ भदौमा सुरु गरेर असोजमा स्तूप पुनः ठडिएका छन् । स्तूप बनाउँदा उक्त स्थानमा क्रिस्चियन धर्मको क्रस भत्काइएन । अहिले त्यहाँ दुवै धर्मका आस्थाका प्रतीक छन् । स्तूप बनाउनका लागि बोधी फाउन्डेसन र बौद्ध अनुयायी लिय मैयूको सहयोग रहेको लामा साङ्गेले बताउनुभयो ।
गाउँपालिकाको नेतृत्व परिवर्तनपछि अहिले स्तूप बनाउन सहज बनेको साङ्गेले बताउनुभयो । उहाँका अनुसार टल्कने ढुङ्गा रहेको स्थानमा रहेको स्तूपमा स्थानीयले बौद्ध प्रार्थना झन्डा फहराउने गर्थे । अब उक्त स्थानमा बुद्धको प्रतिमा स्थापना गर्ने र गुम्बा बनाउने योजना पनि रहेको साङ्गेले बताउनुभयो ।