• २० असोज २०८१, आइतबार

झोलुङ्गे पुलले किसानलाई सहज

blog

ग्वार खोलामा निर्माण गरिएको झोलुङ पुल

गोकर्ण पौडेल 

तुलसीपुर, पुस १९ गते । तुलसीपुर ४ माथिल्लो हलवार र तुलसीपुर १९ को कुटेचौरका किसानको खेतबारी दुवैतिर पर्दछ । वर्षायाममा हलवारका किसानले खेत जोत्न कुटेचौर पुग्दा ग्वार खोला आयो भने खेतमै बास हुन्थ्यो ।

खोला तर्नका लागि दुई घण्टा हिँड्नुपर्ने बाध्यता थियो अब भने दुवैतिरका किसानलाई सहज हुने भएको छ । तुलसीपुर ४ र १९को बीचमा पर्ने ग्वार खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।  

पुल विभागबाट प्राप्त ९० लाख रुपियाँको लागतमा झोलुङ्गे पुलको निर्माण भएको पुल संरक्षण समितिका अध्यक्ष चूर्णबहादुर पार्धेले बताउनुभयो । पुल संरक्षण समितिका अध्यक्ष चूर्णबहादुर पार्धेले पुल निर्माणसँगै यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बिक्री वितरणमा सहज हुने बताउनुभयो ।

कास्यप कन्स्ट्रक्सन २०७७ चैतदेखि सुरु गरेको थियो भने गत मङ्सिरमा सम्पन्न गरेको थियो । पुलको लम्बाई एक सय २२ मिटर रहेको छ । 

निर्माण पुल निर्माणका लागि स्थानीयले जग्गा समेत उपलब्ध गराएका थिए । वडा नम्बर ४का निवर्तमान वडाध्यक्ष बालकृष्ण राणाले कृषिजन्य वस्तुको उत्पादित क्षेत्र भएकाले अब किसानहरूलाई बिजौरी बजारमा आएर उत्पादित वस्तु बिक्री वितरणमा सहज हुने बताउनुभयो ।  

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले पुल निर्माण भएसँगै किसानका साथै अन्य नागरिकलाई आवतजावतको सहज हुने बताउनुभयो । उहाँले पुल निर्माणपछि दुवै वडावासीका लागि वर्षायाममा झेल्दै आएका समस्या समाधान भएको बताउनुभयो ।

तुलसीपुर ४ का किसान वसन्त पौडेलले यस क्षेत्रका किसानहरूले उत्पादन गर्दै आएको तरकारी नजिकको बजार बिजौरीमा बिक्री वितरणका लागि सहज भएको बताउनुभयो ।