• २६ फागुन २०८२, मङ्गलबार

राजेन्द्र महतोको जमानत जफत

blog

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्र महतो । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २४ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलगायतको जमानत जफत भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार सर्लाही २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत रकमधरी गुमेको हो । सर्लाही २ मा ७७ हजार ७८९ मत खसेकोमा ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ ।

जमानत सुरक्षित गर्न सात हजार २३९ मत ल्याउनुपर्नेमा महतोले पाँच हजार ९९२ मत प्राप्त गर्नुभयो । सर्लाही २ मा निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वमन्त्री महेन्द्र राय यादव भने जमानत जोगाउन सफल हुनुभएको छ ।

यस्तै, सर्लाही १ मा निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार एवम् संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ । सर्लाही १ मा नेकपा एमालेका मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधि सभा सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साह, निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीको समेत जमानत जफत भएको छ ।

सर्लाही १ मा ७९ हजार २०७ मत खसेकोमा पाँच हजार ३६५ मत बदर भएको छ । यहाँ जमानत जोगाउन कुल सदर ७३ हजार ८४२ मतमा सात हजार ३८५ मत ल्याउनुपर्ने हुन्थ्यो ।

यस्तै सर्लाही ३ मा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र जमानत जोगाउन सफल हुनुभएको छ । यस क्षेत्रमा ८२ हजार १०८ मत खसेकोमा चार हजार २६८ मत बदर भएको छ ।

जमानत जोगाउन सात हजार ७८४ मत ल्याउनुपर्नेमा पूर्व गृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्दै जमानत जोगाउनुभएको हो । यहाँ नेपाली कांग्रेसका विनोदकुमार खनाल, निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीलगायतको जमानत जफत भएको छ ।

यसैगरी सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादवको मात्र जमानत जोगिएको छ । यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेकोमा चार हजार ५६९ मत बदर भएको छ । 

जमानत जोगाउन सात हजार ३३७ मत ल्याउनुपर्नेमा कांग्रेसका उम्मेदवार एवम् निकटतम प्रतिस्पर्धी थापाले २२ हजार ८३१ र तेस्रो भएका एमालेका यादवले नौ हजार ३४३ मत प्राप्त गर्दै जमानत जोगाउनुभएको हो । यहाँ नेपाली कम्युनिष्ट पार्टीका डा. रजनिस राय, पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायतको भने जमानत जफत भएको छ ।