• २६ फागुन २०८२, मङ्गलबार

महावीर पुनको संसद यात्रा : दुर्गम गाउँ इन्टरनेटसँग जोड्दै

blog

सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी,फागुन २४ गते ।
करिब २६ वर्ष अघि दुर्गम गाउँलाई इन्टरनेटसँग जोड्ने सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले संसदको यात्रा तय गर्नुभएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका ८ नांगी गाउँ महावीरको जन्मथलो हो । उहाँको जन्म  वि.स.२०११ माघ ९ गते भएको थियो । तत्कालिन समयमा गाउँमा शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाको अभाव थियो । पुनको सहयोगले दुर्गम नांगी गाउँ इन्टरनेटमार्फत विश्वसामु जोडियो । सदरमुकाम बेनीमा इन्टरनेटको सहज पहुँच नभएको समयमा नांगी गाउँका बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणहरुले सूचना प्रविधिमा अभ्यस्त हुनथालेका थिए ।

महावीर दुर्गम क्षेत्रमा ताररहित प्रविधिको विकास र राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकर्ता हुनुहुन्छ । दुर्गम गाउँमा ताररहित इन्टरनेट विस्तारमा योगदान पुर्‍याएको भन्दै रमन म्यागेसेसे पुरस्कारबाट पुन २०६५ मा सम्मानित हुनुभएको थियो  ।

स्थानीय चित्र तिलिजाले भन्नुभयो, ‘‘दुर्गम नांगी गाउँलाई तत्कालिन अवस्थामा महावीरले सूचना प्रविधिको माध्यमबाट विश्वसँग जोड्नु भयो । सहरबजारमा इन्टरनेटको पहुँच कम भएका बेला नांगीवासीहरु भने सूचना प्रविधिको माध्यमबाट विश्वसँग जोडिएका थिए ।’’  

तिलिजाका अनुसार सन् १९८९ मा महाविर उच्च शिक्षाका लागि अमेरिका पुग्नुभयो । उहाँले अमेरिकाको नेब्रस्का युनिभर्सिटिमा स्कलरसिपसहित विज्ञान शिक्षा विषयमा स्नातक गर्नुभयो । अमेरिमा अध्ययनकै बसाईमा महावीरले सन् २००१ मा शैक्षिक प्रशासनमा मास्टर डिग्री समेत प्राप्त गर्नुभयो ।  विदेशमा उच्च शिक्षा हासिल गरेपछि उहाँ नेपाल फर्किए विकट गाउँहरुमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियानमा सक्रिय हुनुभयो ।

स्नातकोत्तरको अध्ययन सकेर २४ वर्षपछि आफ्नो गाउँ नांगी फर्किएपछि उहाँले स्थानीय हिमाञ्चल विद्यालयमा कम्प्युटर शिक्षा र आयस्रोत वृद्धिको कार्यक्रम अगाडि बढाउनुभएको थियो ।

सन २००१ ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले गाउँगाउँमा इन्टरनेटको पहुँच पु¥याउने पुनको महत्वकांक्षी योजनालाई सहयोग गर्‍यो । युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरुले पुनलाई आर्थिक सहयोग गरेपछि नांगी र राम्चे आसपासका गाउँहरुमा ताररहित इन्टरनेटको सञ्जाल विस्तार भयो । यसबाट ग्रामिण भेगमा बसोबास गर्ने सर्वसाधारणहरुलाई इन्टरनेट मार्फत पहिलोपटक विश्वसँग जोडिने महत्वपूर्ण अवसर मिलेको पुनका सहयोगी सहयोगी समेत रहनुभएका नांगीवासी तिलिजा बताउनुहुन्छ ।  

तत्कालिन समयमा कास्कीको पोखराबाट वायरलेस टेक्नोलोजीमार्फत पहिलोपटक नांगी गाउँ,राम्चे र आसपासका विद्यालयहरुमा इन्टरनेट पुर्‍याउनुभएको तिलिजाले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘तत्कालिन समयमा बेनी बजारमा समेत इन्टरनेटको सहज पहुँच थिएन । फोन गर्नुपर्दा पनि बजार आउनुपर्ने अवस्था थियो । महावीरको सक्रियताले दुर्गम गाउँका स्थानीयहरु इन्टरनेट मार्फत विश्वसँग जोडिने अवसर पाएका थिए । विद्यालयमा कम्प्युटर पढाई र गाउँका बुढापाकाहरुले समेत सूचना प्रविधिको उपयोग गर्ने अवसर मिल्यो । इन्टरनेट मार्फत गाउँमा टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा समेत पाएका थियौं ।’’

उहाँ अहिले एक चर्चित समाजसेवी, नवप्रवर्तनकर्ता, वैज्ञानिक र शैक्षिक अभियन्ता हुनुहुन्छ ।  जसले ग्रामीण विकास, सूचना प्रविधि र विज्ञान प्रवर्धनमा महत्वपूर्ण योगदान दिनुभएको छ । गाउँमा रहेको हिमाञ्जल माविमा उहाँको सक्रियतामा कम्प्युटर शिक्षा र आधुनिक सूचना प्रविधि सिकाउन थाल्नुभएको स्थानीयवासी तिलिजाले बताउनुभयो ।  

तत्कालीन समयमा महावीरले सूचना प्रविधिको विकाससँगै नांगी, राम्चे, शिख, पाउद्धार लगायतका ग्रामीण भेगका वासिन्दालाई आर्थिक आयआर्जनसँग जोड्ने काम गर्नुभयो ।

पछिल्ला केही वर्ष भने उहाँले अनुसन्धान, नवप्रवर्तन, प्रविधि तथा आर्थिक विकासको पहलहरू अघि बढाउने उद्देश्यसहित “राष्ट्रिय आविष्कार केन्द्र” नामक संस्था स्थापना गरेर अघि बढ्नुभएको थियो ।  

महावीरले म्यागसेसे पुरस्कार, अशोका फेलोसिप, इन्टरनेट हल अफ फेम, सोसल इनोभेसन अवार्ड लगायतका थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । महावीर व्यक्तिगत स्वार्थभन्दा समाज र देशको सेवा विकासलाई प्राथमिकता दिँदै आउनुभएको छ ।

गत भदौको २३ र २४ को आन्दोलनपछि महावीर पाँच महिना अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत हुनुभयो । शिक्षा क्षेत्रमा सुधारको याजना अगाडी बढाउदा सहयोग नपाएको भन्दै अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर उहाँ पुख्र्यौली थालो म्याग्दी आएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभयो ।

जिल्लामा बलियो संगठन भएका राजनीतिक दलका उम्मेदवारलाई पराजित गरेर पुनले संसदको यात्रा तय गर्नुभएको छ । शनिबार बिहान २२ हजार ८ सय पचास मतसहित विजयी भएपछि महावीर पुनले जिल्लाका सबै राजनीतिक दल र जिल्लावासीसँग मिलेर म्याग्दीको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।