• २० असोज २०८१, आइतबार

नेपालगञ्जमा देखियो दादुरा राेग

blog

गोविन्द शर्मा

बाँके, पुस १९ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

ती मध्ये तीनजना एउटै घर परिवारका हुन् । एउटै परिवारका तीनसहित चारजनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका बिरामीहरूको खोजी गरिरहेको छ  ।

टोलमा १५ जना शङ्कास्पद भेटिएकोमा पाँच जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चारजनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी विकल्प चौधरीले जानकारी दिनुभयो । 

एउटा टोलमा पाँच जनासम्ममा दादुराका बिरामी फेला परेमा महामारीको रूपमा लिने गरिएकोमा एउटै घरमा चारजनामा दादुराका बिरामी भेटिएकाले स्वास्थ्य कार्यालयले महामारीको रूपमा लिँदै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

“दादुराको खोप नलगाएका र पुरा खोप नलगाएका बालबालिकामा दादुरा देखिन्छ,” स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले भन्नुभयो,– “एउटै परिवारमा धेरैमा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।”

नेपालमा सन् २०२३ भित्र दादुरा उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको भए पनि अहिले पनि दादुराका बिरामीहरू भेटिन थालेपछि लक्ष्य पुरा गर्न चुनौती हुने देखिएको छ । दादुरा उन्मुलनको लक्ष्यअनुसार प्रति हजारमा एकजना भन्दा कम बालबालिकामा दादुरा झार्नु हो ।