हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजय भएको मुस्ताङमा समानुपातितर्फ पनि कांग्रेस पहिलो भएको छ । प्रत्यक्षतर्फ तीन तीन हजार कटाएको नेपाली कांग्रेसले समानुपातिमा भने कम मत ल्याएपनि जिल्लाको पहिलो दल भएको हो ।
दुबै प्रणालीको गणनापछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार नेपाली कांग्रेस २५ सय २१ मत, राष्ट्रि«य स्वतन्त्र पार्टी (रास्वपा) २३ सय १३ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १२ सय चार मतसहित तेस्रो भएको छ । समानुपातिकमा नेपाली कम्युनिष्ट पार्टीले एक सय २६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय २३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभये । प्रत्यक्षमा निर्वाचित नेपाली कांग्रेसका गौचनले ३ हजार ३ सय ७ मत, नेकपा एमालेका इन्द्रधारा विष्टले १८ सय ६ मत ल्याउनुभएको थियो ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले सात सय ५९ मत प्राप्त गरेको रास्वपाले समानुपातिकमा भने उत्साहजन मत ल्याएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार तीन सय २८ मतदाता रहेकोमा मुस्ताङमा ६ हजार तीन सय ९७ मत खसेको थियो ।
यसैबिच मुस्ताङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत विद्यानाथ पौडेलले स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सुरक्षा समिति, सञ्चारकर्मीलगायत मुस्ताङवासीलाई धन्यवाद दिनुभएको छ ।