• २० असोज २०८१, आइतबार

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द

blog

उडान बन्द रहेको नेपालगञ्जस्थित राँझा विमानस्थल । तस्बिर-सिराज खान । नेपालगञ्ज

सिराज खान

नेपालगञ्ज, पुस १९ गते । बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैंका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् । 

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरूलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ । 

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा दिउँसो २ बजेसम्मका सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले बताउनुभयो । 

मंगलबार बिहानैदेखि ६ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाहरूका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उहाँले बताउनुभयो । 

नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा  दैनिक उडान हुने गरेको छ । 

यसैगरी, केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् ।