• १२ असोज २०८१, शनिबार

तुसारोले जनजीवन कष्टकर

blog

ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा लागेकाे तुसारो । तस्बिर – शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, पुष १९ गते । ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो । केही दिन यता जिल्लाको माथिल्लो भेगमा बाक्लो तुसारो पर्नुका साथै चिसो बढेको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेका हरिकुमार मगरले जानकारी दिनुभयो ।

तुसारोका कारण चिसोले घाँस दाउरा तथा दैनिक काम गर्न समस्या भएको मगरले बताउनुभयो । बालबालिका तथा ज्येष्ठ नागरिकलाई अझ बढी समस्या भएको उहाँको भनाइ छ ।

विद्यालयहरूमा पठन पाठनमा समेत समस्या आएको ग्रेस एकेडेमी बोर्डिङ्गका सञ्चालक समेत रहेका मगरको भनाइ छ । जिल्लाको माथिल्लो क्षेत्रहरू जन्तरखानी, धाप, सिँगाने, झाप्रे, पात्ले, खिजिदेम्बाको माथिल्लो भेगमा तुसारो पर्नुका साथै चिसो अत्यधिक बढेको छ ।

तुसारोका कारण धारा तथा ट्याङ्कीको पानी समेत जम्न थालेको स्थानीयको भनाइ छ । हिउँ पर्नुभन्दा पहिले जिल्लाको उच्च भेगहरूमा तुसारो पर्ने गर्छ । विगतका वर्षहरू भन्दा अत्यधिक चिसो बढेको स्थानीयहरूको भनाइ छ ।