• २० असोज २०८१, आइतबार

राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्य निर्वाचन

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

blog

काठमाडौं, पुस १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक /एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ''रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौँला ।''

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतकाे उपस्थित रहेकाे प्रधानमन्त्री प्रचण्डका निजी प्रेस सहयाेगी सूर्य किरण शर्माले जानकारी दिनुभयाे ।

बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।