• २० असोज २०८१, आइतबार

भक्तपुरकी अशक्त नागरिकले पाइन् घरमै नागरिकता

blog

गाेरखापत्र अनलाइन

भक्तपुर, पुस १८ गते । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाणपत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नुभएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाणपत्र लिएर उहाँको निवास पुग्नुभएको थियो । 

कार्यालय आउन कठिनाइ हुने हुँदा जिल्ला प्रशासन कार्यालयले घरमै पुगी नागरिकता प्रमाणपत्र प्रदान गर्दै आएको जानकारी गराउँदै यसबाट परिवारजनमा राज्यप्रति सकारात्मक भाव पैदा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका नागरिकलाई कार्यालयमा ल्याउन समस्या भएको स्मरण गर्नुभयाे । 



उहाँसँग सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडालगायत नागरिकता फाँटका कर्मचारी समेत सहभागी हुनुहुन्थ्यो । उहाँहरु कार्यालय समय सकिएपछि सेवामा खटिनुभएको थियो । यसअघि पनि सूर्यविनायक नगरपालिकाका २ जना अपाङ्गता भएका नागरिकले घरबाटै सेवा पाउनुभएको थियो । 

उक्त अवसरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले वडाले आवश्यक समन्वय गरी अपाङ्गता भएका नागरिकलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाउने  प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

सुप्रिनाकी आमा सुशीला श्रेष्ठले घरमै आएर नागरिकता दिएकोप्रति प्रजिअ शर्मा नेतृत्वको टोलीलाई धन्यवाद व्यक्त गर्दै अन्य निकायले समेत अपाङ्गता भएकाहरुको समस्या  बुझिदिएर सेवा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।