• १२ असोज २०८१, शनिबार

एसियाली राजमार्गमा रहेको पुल सञ्चालन

blog

लीला झापाली

बिर्तामोड, पुस १७ गते । पूर्वी एसियाली देशहरूलाई जोड्ने एसियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टामा छलेनको मितेरी पुल आइतबार उद्घाटन गरिएको छ । निर्माण भएको डेढ वर्षपछि सञ्चालनमा आएको यस ‘मितेरी पुल’ ५७५ मिटर लामो छ ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुल सञ्चालनमा ल्याइएको हो ।  

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनका उपआयुक्त छिरिङ शेर्पा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो  ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो । पुलको आधा भाग नेपाली सीमाभित्र र आधा भाग भारतमा छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैङ्कको भारतीय  एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । 

निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपियाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।

नयाँ पुल फराकिलो र सुविधाजनक भएकाले नेपाल भारत सीमामा आवतजावतमा सहज भएको छ । पुलबाट सबै प्रकारका यातायातका साधनले आवागमनको अनुमति पाएको छ भने दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने बताएको छ  ।

नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने स्थानीयको भनाइ छ ।