• २० असोज २०८१, आइतबार

जनताको विश्वास जित्नु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, पुस १७ गते। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेर जनताको विश्वास जित्नु आवश्यक रहेको बताउनुभएको छ। 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो। गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतालाई दिलाउन सकिने उहाँको भनाइ छ 

उहाँले भन्नुभयो, ‘‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ। आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो। मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन्। अहिले नेपाल त्यतै हिँडिरहेको छ। तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्।’’

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उहाँको भनाइ थियो। 

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्नुहुँदै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताउनुभयो।

प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिनुभएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिनुभयो।