• २० असोज २०८१, आइतबार

संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण

blog

चन्द्रकोट गाउँपालिका वडा नं ८ मा पन्चेबाजा वितरण गर्दै । तस्बिर– तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १७ गते । गुल्मीमा संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पञ्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।

वडा भित्रका दलितहरूले पञ्चेबाजा बजाई जीविकोपार्जन गर्ने उनीहरूको पेसालाई संरक्षण गर्न र आर्थिक रूपले पनि सम्पन्न बनाउन पञ्चेबाजा वितरण गरिएको अर्यालले बताउनुभयो । वडा नं ८ भित्र चार सय घरधुरीहरू दलित भएकाले उहाँहरूलाई आर्थिक रूपले सम्पन्न बनाउन पनि वडा कार्यालय र पालिकाले थप कार्यक्रमहरू बनाएको उहाँको भनाइ छ । 


तल्लो तहको जीवन स्तरमाथि नउठेसम्म परिवर्तन नहुने भन्दै उनीहरूको पेसालाई माथि उकास्न पञ्चेबाजा वितरण कार्यले थप टेवा पुग्ने वडा अध्यक्ष फडिन्द्र अर्यालले बताउनुभयो ।

यता, गाउँपालिकाका अध्यक्ष युवराज केसीले पुस्तौँदेखि गर्दै आएको पेसालाई संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताउनुभयो । उहाँहरूको सीपलाई थप व्यवस्थित गर्ने बताउँदै कला संस्कृति र परम्परालाई बचाई राख्न आवश्यक अन्य सहयोग गर्न पनि गाउँपालिका तयार रहेको उहाँको भनाइ छ । 

गाउँपालिका भित्रका नागरिकहरूलाई आफूहरूसँग भएको सीपलाई व्यवस्थित गर्न र युवालाई स्वदेशमै टिकाई राख्न आफूहरूले योजना बनाएको खत्रीले बताउनुभयो ।